close

ढोरपाटनद्वारा कृषकलाई अनुदानमा उपकरण

ढोरपाटनद्वारा कृषकलाई अनुदानमा उपकरण

Trulli
ADVERTISEMENT

बागलुङ। ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो । कृषकलाई घाँस तथा पराल र छवाली काट्ने इलेक्ट्रिक चापाकटर, मिनीटेलर हलो र प्लास्टिक टनेल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले जानकारी दिए।

व्यक्तिगत कृषि दर्ता गरेका कृषक, सहकारी र कृषि समूहलाई यसपटक कृषि औजार उपलब्ध गराइएको अधिकारीको भनाइ छ । सत्रवटा चापाकटर, १८ वटा मिनिटेलर हलो, एक सय ४४ वटा प्लास्टिक टनेल वितरण गरेको उहाँले बताउनुभयो । सबै औजार ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको अधिकारीले बताउँछन्। कृषक र समूहले माग गरेअनुसार कृषि औजार नगरपालिकाले खरिद गरेर वितरण गरेको अधिकारीको भनाइ छ ।

उनले भने, ‘नगरपालिकाले कृषकलाई आवश्यक औजार माग गर्नका लागि सूचना आह्वान गरेका थियौँ, सोहीअनुसार रु तीन लााख ५० हजारको चापाकटर, साढे चार लाखको मिनीटेलर र साढे चार लाखकै प्लास्टिक टनेल वितरण भएको छ, कृषि सामग्री पाएपछि कृषक हर्षित हुनुभएको छ, यसले उहाँहरूलाई उत्पादन बढाउन मद्दत पुग्ने छ भने थप सक्रिय भएर कृषिकर्ममा लाग्न प्रेरणा मिल्ने छ ।’

कृषि औजार प्राप्त गरेका रुद्रावती कृषि सहकारी संस्थाका अध्यक्ष रेशमराज रेग्मीले नगरपालिकाले दिएको औजारले ग्रामीण क्षेत्रमा घाँस काट्न किसानलाई ठूलो मद्दत पुग्ने बताए। उनले आधुनिक प्रविधिको विकाससँगै कृषिमा पनि आधुनिकीकरण हुन जरुरी रहेको भन्दै नगरपालिकाले कृषकलाई प्रविधिसँग जोड्न थालेको बताए।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले कृषिमा आधुनिकीकरण गर्न कृषकलाई आधुनिक औजार वितरण गरेको बताए। कृषि उपकरणले कृषकको समय बचत हुनुका साथै उत्पादन बढाउन टेवा पु¥याउने अपेक्षा लिएको उपप्रमुख कायतको भनाइ छ । परम्परागतरूपमा पशुपालन र खेतीपाती गर्दा परनिर्भरनै हुनुपरेको भन्दै अब हरेक कृषकलाई प्रविधिसँग जोड्ने उनले बताए।

उपप्रमुख कायतले भने, ‘हाम्रो नगरपालिकाभित्र धेरै खेतीयोग्य जमिन छन्, अहिलेसम्म कृषकले पुरानै शैलीमा कृषि गर्दा धेरै उत्पादन हुनसकेको छैन, वर्ष दिन काम गरेर छ महिना खान नपुग्ने अवस्था छ, यो अवस्था नयाँ प्रविधि नअपनाउँदा आएको हो, अब कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने र सामान्य ज्ञान दिने, उन्नत जातका बीउबिजन वितरण गरेर कृषिबाट आत्मनिर्भर बनाउने प्रयास हामीले गरिरहेका छौँ ।’