close

भिमादका कृषकलाई फाइदैफाइदा, लागू भए झनै काइदा

भिमादका कृषकलाई फाइदैफाइदा, लागू भए झनै काइदा

Trulli
ADVERTISEMENT

तनहुँ - भिमाद नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा कृषिलाई प्राथमिकता राखेको छ । नगरपालिकाले युवालाई कृषिमा आकर्षण बढाउन तथा स्वरोजगार प्रदान गर्नको लागि प्राथमिकतामा राखेको हो । 

नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीका अनुसार चालू आवमा कृषिमा अनुदान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने छ । 'कृषि उपाजमा वृद्धि र व्यापार भिमादको विकासको आधार' भन्ने नारा बनाएर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले पालिकाखबरलाई जानकारी दिए । 

उनका अनुसार नगरपालिकाले कृषिमा उत्पादन बढाउनका लागि उपप्रमुख कार्यक्रमअन्तर्गत महिलामैत्री खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषिजन्य खाद्य सामग्री उत्पादन तथा बजारीकरणको लागि आवश्यक सहयोग नगरपालिकाले गर्ने भएको छ । 

वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि नगरपालिकाले तालिम सञ्चालन गर्ने उनले जानकारी दिए । ७० प्रतिशत वैदेशिक रोजगारी फर्केका र ३० प्रतिशत स्थानीय युवाको सहभागिता गराइने उनले जानकारी दिए । यस्तो गर्दा सीप र ज्ञान आदानप्रदान हुने उनको विश्वास छ । 

नगरपालिकाले बाँझो जमिन जोतेर कृषि उत्पादन गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । उनका अनुसार निजी जमिन जोत्नेलाई प्रतिरोपनी २ हजार र भाडाको जग्गा जोत्नेलाई प्रतिरोपनी ३ हजार रुपैयाँ उपलब्ध गराउने उनले जानकारी दिए । 

नगरपालिकाले कृषि उत्पादनको लागि बीउ र आधुनिक सामग्री अनुदानमा वितरण गर्ने नीति लिएको छ । उनका अनुसार तरकारीका लागि ७५ प्रतिशत अनुदान, स्थानीय दूध तथा मासु विक्रीका लागि सञ्चालित पसलको लागि ५० प्रतिशत अनुदान, प्लाष्टिकको पोखरी, माछा पकेट, आलु तथा तोरी बालीको लागि ५० प्रतिशत अनुदान दिने उनले बताए । 

स्थानीय जातको बाख्रा संरक्षण गर्ने कृषकलाई पनि अनुदान दिने उनले बताए । उनका अनुसार नगरपालिकाले चालू आवमा कृषिलाई दोस्रो स्थानमा प्राथमिकतामा राखेको छ ।