close

गाउँपालिकामै ताेरी पेल्नेलाई ५ रुपैयाँ छुट

गाउँपालिकामै ताेरी पेल्नेलाई ५ रुपैयाँ छुट

Trulli
ADVERTISEMENT

खोटाङ - रावाबेँसी गाउँपालिकाले तेल पेल्न मिल सञ्चालनमा ल्याएको छ  । गाउँपालिकाले तोरी खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत मिल सञ्चालनमा ल्याएकाे हाे । 

किसानले व्यावसायिक रुपमा तोरी र सूर्यमुखी फूल खेती लगाएर उत्पादन गरे पनि पेल्ने मिलको अभाव भएपछि गाउँपालिकाले  चार लाख ९२ हजार पाँच सय ३५  रुपैयाँमा एउटा मिल सञ्चालनमा ल्याएको  पालिकाका कृषि शाखाका नायब प्राविधिक सहायक चाैथाेले पालिकाखबरलाई बताए । 

मिल चलाउने जिम्मा वडा नं १ कुभिन्डेको हरम्टारस्थित कटहरे कृषक समूहका सदस्य माधव पाण्डेले लिएका छन् । गाउँपालिकाभित्रका तोरी उत्पादन गर्ने किसानलाई बजार मूल्यभन्दा प्रतिकेजी रु पाँच छुट दिनेगरी गाउँपालिको लगानीमा मिल सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख मुगाधन राईले जानकारी दिए । 

छ वडा रहेको रावाबेँसी गाउँपालिकाले खाने तेलमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७९/०८० देखि तोरी खेती प्रवद्र्धन कार्यक्रम सुरुआत गरेको थियो । किसानले उत्पादन गरेका तोरी पेलेर तेल निकाल्ने, तेल पेलेर निस्किएको पिनालाई पशुचौपायका लागि उपयुक्त हुने दानाका रुपमा प्रयोग गर्दै पशुपालन व्यवसाय प्रवद्र्धन गर्ने, तोरीबाट गुन्द्रुक बनाउने, महका लागि महुरी पालन गर्ने लगायतका बृहत लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेको हो । 

किसानको खेत र बारीमा चक्लाबन्दी तोरी खेती लगाएर तेल उत्पादन गर्दै आयातित तेललाई विस्थापित गर्ने लक्ष्यका साथ गाउँपालिकाले गत वर्ष किसानलाई तोरी र सूर्यमुखी फूलको बीउ निःशुल्क वितरण गरेको थियो । रावाबेँसी गाउँपालिकाका कतिपय किसानले स्वतःस्फूर्त पनि तोरी खेती लगाउँदै आएको अवस्थामा गाउँपालिकाले चक्लाबन्दी तोरी खेती कार्यक्रम लागू गरेको हो ।

खाने तेलमा गाउँपालिकाबाट अनुमानित वार्षिक रु साँढे तीन करोडदेखि रु चार करोड रकम बाहिरिने तथ्यलाई मध्यनजर गर्दै तोरी खेतीको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले जानकारी दिएका छन् । 'तोरी खेतीका लागि १४ क्लष्टर निर्धारण गरिएको छ । खाने तेलमा हुने निर्यात खर्चलाई न्यूनीकरण गरी तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका एकैसाथ एक सय २५ हेक्टर (दुई हजार पाँच सय रोपनी) जग्गामा चक्लाबन्दी तोरी खेती सुरु गरिएको छ', उनले भने, 'बाँझिदै गएको जग्गालाई उपयोगमा ल्याउने र किसानलाई स्वरोजगार बन्न उत्प्रेरित गर्ने योजनासहित चक्लाबन्दी तोरी खेती प्रवद्र्धन कार्यक्रमको अवधारणा ल्याइएको हो ।'

गाउँपालिकाका अधिकांश क्षेत्र तेलहन बालीको व्यावसायिक खेती गर्नका लागि उर्वर भूमि मानिन्छ । तेलहन बालीको लागि उपयुक्त भूमिमा गाउँपालिकाले तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेपछि किसानसमेत हर्षित भएका छन् । 

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि कृषि उत्पादनलाई प्राथमिकता दिएका छन् । जिल्लाका सबै स्थानीय तहले चालु आर्थिक वर्षका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएका छन् ।