close

एक रोपनी जमिनमा सयपत्री खेती गर्दा नौ हजार अनुदान

एक रोपनी जमिनमा सयपत्री खेती गर्दा नौ हजार अनुदान

Trulli
ADVERTISEMENT

स्याङ्जा– कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् ।

सुरुआतमा गाउँपालिका आफैँले फूलखेती गरी राम्रो आम्दानी गरेसँगै पालिकाका विभिन्न समूह सहकारी तथा व्यक्ति अभिप्रेरित भई पालिकाको अनुदानमा फूलखेतीमा आकर्षित भएका हुन् । पालिकाले केही वर्षदेखि थालेको व्यावसायिक फूलखेतीबाट सफलता प्राप्त गरेसँगै अहिले यहाँका समूह, सहकारी तथा व्यक्तिहरूले पनि व्यावसायिक फूलखेती थालनी गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।

गाउँपालिकाभित्र फूलखेती गर्न इच्छुकलाई उत्पादनमा आधारित रहेर ५० प्रतिशत अनुदान उपलब्ध गराइने उनले जानकारी दिए । ‘अहिले गाउँपालिकाका विभिन्न १६ स्थानमा करिब ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती भएको छ’, उनले भने, ‘फूलखेतीको अनुदानका लागि कम्तीमा पनि दुई रोपनी जग्गामा अनिवार्य फूल लगाउनुपर्ने छ, दुई रोपनी क्षेत्रफलभन्दा तल अनुदान दिँदैनौँ ।’

गाउँपालिकाले प्राविधिक सहयोग गर्ने तर सुरुआतमा किसानले आफ्नै लगानीमा बीउबिजन, मलखाद, मल्चिङ प्लाष्टिक, डोरीलगायतको व्यवस्थापन गर्नुपर्छ । किसानले फूल उत्पादन गरेपश्चात प्रतिरोपनी रु नौ हजारका दरले एकमुष्ट अनुदान गाउँपालिकाले उपलब्ध गराउँने उनले जानकारी दिए । 

दसैँ तिहारलाई लक्षित गरी अहिले गाउँपालिकाका विभिन्न ठाउँमा ‘कर्मा ५५५’ जातको फूलखेती गरिएको उनले बताए । उत्पादन भएको फूल स्थानीय बजारसहित पोखरा, बुटवल, नारायणगढ, काठमाडौँ, दाङ, सुर्खेतलगायतका बजारमा खपत हुने गरेको कृषि अधिकृत पौडेलले बताए ।