close

कृषि बजारीकरणका लागि नीति बुन्दै विर्तामाेड

कृषि बजारीकरणका लागि नीति बुन्दै विर्तामाेड

Trulli
ADVERTISEMENT

झापा– विर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षमा बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । पालिकाका कृषकहरुले व्यावसायिक खेती गरेर उत्पादन गरेको कृषिजन्य सामाग्रीको उचित बजारको लागि नगरपालिकाले बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेको हो । 

नगरपालिकाले कृषिजन्य सामाग्री संकलन केन्द्र र बिक्री केन्द्र स्थापना गर्ने पालिकाका कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिए । उनकाअनुसार नगरपालिकाले संकलन तथा बिक्री केन्द्रको स्थापनाको लागि प्राविधिक पक्षमा सहयोग गर्ने छ भने यसको सञ्चालन कृषकहरु स्वयमंले गर्नुपर्ने छ । पालिकाले बजारको व्यवस्थापन गरेपछि उत्पादन कृषक र उपभोक्ता जोडिने दिने उनले पालिकाखबरलाई बताए । 

यस्तै नगरपालिकाले आलुको बीउ स्टोरेजको लागि ‘सीड स्टोर’ बनाउन कोल्ड स्टोर बनाइरहेको उनले बताए । ‘भौतिक संरचना निर्माणका केही कामहरु बाँकी छन् । यस वर्षबाट नै कोल्ड स्टोर सञ्चालन गर्ने तयारी छ,’ कृषि शाखा प्रमुख कडरियाले भने। 

व्यवसायिक खेतीको लागि नगरपालिकाले ‘एक समुह एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिएको उनले जानकारी दिए । सो कार्यक्रमबाट तोरी र आलु उत्पादनलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । एउटा वडाभित्रै पनि विभिन्न समुह बनाएर एउटा समुहले एउटै बाली मात्र उत्पादन गर्न प्रोत्साहन गरिएको छ । 

नगरपालिकामा धान र मकै बाली संरक्षणको कार्यक्रम निरन्तर सञ्चालन भइरहेको उनले बताए । धान र मकै बालीमा लागेको रोगहरुको निदान नगरपालिका आफैले गर्ने गरेको छ । उनले भने, ‘यस वर्ष धानबालीमा धेरै कीरा देखियो । ४४ सय भन्दा धेरै किसानहरुलाई विषादी उपलब्ध गरायौँ । अब मकैमा कुनै समस्या देखियो भने त्यसमा पनि किसानहरुलाई आवश्यक विषादी उपलब्ध गराउँछौँ ।’

यस्तै नगरपालिकाले साना सिचाईँ कार्यक्रमबाट ८०७ वटा सिँचाई निर्माण गरेर २७०० बिघा जग्गालाई सिचाईको पहुँचमा पु¥याएको छ । तर, यस आर्थिक वर्षमा बजेट कम भएकाले ३०/४० वटा मात्र साना सिँचाईको आयोजना सम्पन्न गर्न सकिने उनले बताए । यसका बाहेक कृषकलाई मागमा आधारित तालिम प्रदान गर्ने उनले जानकारी दिए । आवश्यकता अनुसार समयसमयमा माटो परिक्षण गर्ने र कृषि चुन छर्कने गरेको छ । 

गत आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको यस आर्थिक वर्षमा १ करोड बजेट छुट्याएको उनले बताए । संघ सरकारबाट बजेट कम आएकाले कृषि शाखाको लागि नगरपालिकाले बजेट कम विनियोजन गरेको उनले जानकारी दिए ।