close

व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिँदै संखुवासभाका कृषक

व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिँदै संखुवासभाका कृषक

Trulli
ADVERTISEMENT

लकडाउनको अवधि बढेसँगै संखुवासभामा कृषकले आफ्नो आम्दानी बढाउन थालेका छन् । कोरोना भाइरसको संक्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भएपनि गाउँमा भने कृषकलाई आफ्नो पेशामा समय दिन साथदिएको सभापोखरी गाउँपालिका–२ का कृषक मानध्वज राईले बताए।

 

स्कूल-क्याम्पस सबै बिदा छ । छोराछोरी सबै गाउँमै हुँदा खेतीपातीमा धेरै सहजता आएको भन्दै अहिले आफूसहित सपरिवार खेतबारीमै व्यस्तहुने गरेको जानकारी राईले दिए। आँप, लिची, केरा, कागती, सुन्तला, मेवा, भुइँकटहर लगायतका १०० भन्दा बढी फलफूलको बिरुवा लगाएको राईले बताए। बेसार, अदुवा, सिमी लगायतका सागसब्जी रोपेर आम्दानीको स्रोत बढेको भन्दै कोरोना संक्रमणले लामो समयदेखि आम्दानी नै लिन नसकिएको खेतबारीबाट समेत केहीवर्षपछि राम्रो आम्दानी जुटाउन सकिने वातावरण तयार भएको राईको भनाइ छ ।

 

राईले परिश्रम, जैविकखानपिन र सरसफाइबाटै कोरोनालाई परास्त गर्न सकिने भन्दै कोरोनासँग डराएर भन्दा श्रम र पसिना बगाउन सके आर्थिक प्रगतिहुनुका साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाएर रोगलाई भगाउन सकिने धारणा राखे ।

 

सभापोखरीका मानध्वज मात्रै होइन, संखुवासभाका धेरै कृषकले लकडाउनको समयमा खेतीपातीबाट राम्रो आम्दानी बढाएका छन् । खाँदबारी–४ पाङ्माका दाजुभाइ गंगाराज र बलबहादुर कुलुङ राईले समेत लकडाउनले कृषकलाई राम्रो अवसर दिएको बताए । उनीहरुले आफ्नो सात रोपनी र छिमेकीसँग भाडामा लिएको दुई रोपनी गरी नौ रोपनी जग्गामा टमाटर, प्याज, काउली, साग लगायतका तरकारी बाली लगाएका छन् । बाह्र वटा टनेलमा दाजु-भाइले मिलेर लगाएको टमाटर, सागसब्जी लगायतका फलफूल किन्न उपभोक्ताहरु करेसाबारीमै पुग्ने गरेका गंगाराजले बताए ।

 

रु पाँचलाखको लगानीमा सुरु गरेको तरकारी बालीखरिद गर्न र हेर्नका लागि स्थानीय उपभोक्ता, जनप्रतिनिधि समेत पुग्ने गरेको र सहयोग गर्ने आश्वासन समेत दिएकाले व्यावसायिकरूपमा कृषि पेशामा लाग्न थप हौसला जुटेको उनको भनाइ छ । लकडाउनका कारण अन्य जिल्लाबाट तरकारी फलफूल नआउँदा आफ्नो उत्पादनले राम्रो मूल्य र बजारसमेत पाएको भन्दै आफूले वर्षैपिच्छे धान खेती घटाउँदै व्यावसायिक फलफूल र सागसब्जी खेती बढाउँदै लैजाने योजना राखेको उनले बताए।

 

बजारतिर जताततै कोरोना भाइरसको आतंक बढेको छ । बाहिर बिनाकाम भौँतारिनुभन्दा कृषिमै समय दिन सकियो भने जीविकोपार्जन र आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिन्छ भन्ने कुरामा आफूहरुको विश्वास बढेको कृषक राईले बताए। व्यावसायिक कृषिकालागि केहीतालिम र सहुलियत ऋणको व्यवस्थाहुने हो भने ठूलो संख्यामा विदेशिएका युवालाई आफ्नै गाउँमा रोजगारी दिलाएर उनीहरुको आयस्तर उकास्न सकिने राईको भनाइ छ ।

 

यता खाँदबारी–२ चेवाका तेजबहादुर कार्कीले पनि यस वर्ष तरकारी र फलफूल खेतीबाट राम्रो आम्दानी लिएको बताए। केही वर्ष अघिदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न कार्कीले पाँच रोपनी जग्गामा काउली, साग, गाजर, टमाटर, काँक्रो सिमीलगायत सागसब्जी खेतीगर्दै आएका छन् । अघिल्लो वर्षदेखि नै व्यावसायिक कृषिमा लाग्नुभएका उहाँले यस वर्ष कोरोनाका कारण गरिएको लकडाउनको समयमा तरकारी खेतीबाट अघिल्ला वर्षभन्दा राम्रो आम्दानीलिएको बताए।

यातायातको सुविधासमेत थपिएकाले कार्कीले आफ्नो उत्पादन ट्र्याक्टरमार्फत पनि स्थानीय मानेभञ्ज्याङ र खाँदबारी बजारसम्म बिक्रीकालागि लैजाने गरेको बताए। शारीरिक श्रमसँगै खेतबारीको स्याहारसुसार गर्दा परिवार खुशी रहेको र मासिकरूपमामलबीउको खर्च कटाएर रु ५० हजार भन्दा बढी आम्दानी गरिरहेको कार्कीको भनाइथियो ।

 

गतवर्ष उत्पादनले कम मूल्य पाउने, बिक्री गर्न समस्याहुने भएपनि यस वर्ष आफूले सबै उत्पादन सहज रूपमा बजारमा बिक्री गर्न सकेको भन्दै कृषकलाई उँभो लगाउन र व्यावसायिक कृषिमा आकर्षण गर्न स्थानीय पालिकाहरुले योजना अघि सार्नुपर्ने धारणा राखे । उनले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले मल र बीउमा अनुदानको व्यवस्थागर्दै कृषि बीमाको व्यवस्थालाई सहज पार्नुपर्नेमा जोड दिए। 

 

लकडाउनका कारण गाउँ फर्किएका जनशक्ति कृषि पेशामा संलग्नहुँदा यस वर्ष संखुवासभाको कृषि उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख गोविन्द प्रसाद आचार्यले संखुवासभामा कूल खेतीयोग्य जमिन ३१ हजार ५८६ हेक्टरमध्ये १३ हजार ८५१ हेक्टर धान खेतीयोग्य जमिन रहेको जानकारी दिए। गतवर्ष १३ हजार ३९४ हेक्टरमा धान खेती गरिएकामा यस वर्ष थप २७७ हेक्टर गरी १३ हजार ६७१ हेक्टरमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख आचार्यको भनाइ छ ।

कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले लगाएको लकडाउनका कारण जिल्लाबाहिर रहेको जनशक्ति घर फर्किएको, बर्सातले राम्रो साथदिएको र अधिकांश परिवारका सदस्य अहिले खेतीपातीमा संलग्नहुने वातावरण बनेकाले यस वर्ष कृषि उत्पादनमा समेत उल्लेख्य वृद्धि हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख आचार्यले बताए।