close

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आर्थिक क्षेत्र चलायमान बनाउन  परिसंघको आग्रह

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आर्थिक क्षेत्र चलायमान बनाउन  परिसंघको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौँ -  नेपाल उद्योग परिसंघले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउने वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडासँग भेटी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोना संक्रमित नभएका जनशक्तिबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको थियो ।


उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङका आधारमा कर्मचारी तथा कामदारको पिसिआर परीक्षण गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा परिसंघको प्रतिनिधिमण्डलले जोड दियो ।

 

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यलाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने र  चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको परिसंघले जनाएको छ ।


 निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा होटललाई आबद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेसनका सेवा प्रदान गर्न निजी क्षेत्रलाई पनि दिनुपर्ने धारणा परिसंघले राखेको थियो । मौद्रिक नीतिमा व्यवस्था भएका कतिपय व्यवस्था कार्यान्वयनमा नआएको तथा उत्पादनमूलक  उद्योगमा लकडाउन अवधिभर विद्युत्को डिमानड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने बजेटमार्फत घोषणा गरिएकामा हालसम्म सो व्यवस्था कार्यान्वयनमा नआएको विषयमा परिसंघले सरकारको ध्यानाकर्षण गराएको थियो ।

 

सो अवसरमा पूर्वअर्थमन्त्री डा. खतिवडाले परिसंघले उठाएका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र कतिपय विषय कार्यान्वयनका तहमा समेत छलफल भइरहेको बताए ।