close

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

Trulli
ADVERTISEMENT

स्याङ्जा - बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व संकलन भने लक्ष्य नजिकै पुगेको छ ।

नगरपालिकाले गत आव २०७६/७७ मा लक्ष्यको नजिकै अर्थात् ९३ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले विभिन्न आयका शीर्षकबाट चार करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा चार करोड २१ लाख रुपैयाँ राजश्व संकलन भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘बन्दाबन्दीमा पनि वालिङमा लक्ष्यको नजिक-नजिक पुग्ने गरी राजश्व सङ्कलन भएको छ” नगरप्रमुख खाँणले भने । नगरपालिकाले आव २०७६/७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेशनबाट ८९ लाख ५९ हजार १ सय ५५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । उक्त शीर्षकबाट नगरपालिकाले एक करोड २० लाख रुपैयाँ राजश्व संकलन गर्ने अनुमान गरेको थियो ।

नगरपालिकाले सिफारिस दस्तुरबाट ५३ लाख ५८ हजार ७ सय ९५ रुपैयाँ, एकीकृत सम्पत्ति करबाट ४९ लाख १५ हजार ७ सय ९५ रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट ४२ लाख ८७ हजार ४ सय ९४ रुपैयाँ, नक्सापास दस्तुरबाट ३२ लाख ४९ हजार ६ सय ४५ रुपैयाँ, घरबहाल करबाट ३० लाख ६६ हजार ४ सय ५३ रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क (सरसफाइ) बाट १९ लाख ७४ हजार ४ सय ७० रुपैयाँ , अन्य सेवा शुल्क तथा बिक्री (ढुंगा, गिटी, बालुवा) को राजश्व बाँडफाँड भई प्राप्त भएको १८ लाख ५३ हजार ८ सय २० रुपैयाँ संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।

नगरपालिकाले आव ०७५/०७६ मा चार करोड १२ लाख ५५ हजार ७ सय ८७ रुपैयाँ राजश्व संकलन गरेको थियो । उक्त आवमा घरजग्गाको रजिष्ट्रेशनबाट रु. एक करोड १० लाख ७१ हजार ६ सय ४३ रुपैयाँ , सिफारिस दस्तुरबाट ६२ लाख ७९ हजार ३ सय ४७ रुपैयाँ , एकिकृत सम्पत्ति करबाट ५३ लाख ८० हजार ८३ रुपैयाँ, नक्सापास दस्तुरबाट ४३ लाख ५६ हजार रुपैयाँ घर बहालबाट ३४ लाख ९२ हजार २ सय ३४ र अन्य दस्तुरबाट ३० लाख २२ हजार रुपैयाँ राजश्व संकलन भएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए ।