close

छ महिनापछि सुरु भयो आन्तरिक उडान 

छ महिनापछि सुरु भयो आन्तरिक उडान 

Trulli
ADVERTISEMENT

काठमाडौँ -  कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ । बन्दाबन्दी सुरु भएको गत ११ चैत देखि ६ साउन सम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो ।

 

सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो । एक सातापछि क्रमशः उडान संख्या थपिने नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । वायु सेवा प्रदायक कम्पनीले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमशः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान संख्या बढाइने बताएका छन् ।

 

उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ । सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरूले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन् । कतिपय गन्तव्यमा न्यूनतम भाडादरमा नै सेवा सञ्चालन गरिने एयरलाइन्सले उल्लेख गरेका छन् । यसअघि भदौ १ देखिनै आन्तरिक उडान खोल्ने सरकारले निर्णय गरेको थियो । राजधानी काठमाडौँसहित देशभर कोरोना सङ्क्रमण बढेपछि आन्तरिक उडान पुनः स्थागन गरिएको थियो । पछिल्लो पटक भदौ मसान्तदेखि देशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा पनि खुला भइसकेको छ । पर्यटन क्षेत्रका होटल, रेस्टुराँलगायत व्यवसाय पनि स्वास्थ्य सावधानी अपनाएर सञ्चालमा आएका छन् ।

 

आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहल पहल बढेको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा सीमित सङ्ख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको आन्तरिक उडानमा नियमित उडान सेवा सुरु भएपछि आम सर्वसाधरणलाई गन्तव्य पुग्न सहज हुनेछ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी सुरक्षित हवाई उडानका लागि सबैखाले प्रयत्न गरिएको बताए ।

 

सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पुर्याएर सेवा सञ्चालन गर्ने प्राधिकरणले जनाएको छ । अहिले दैनिक ५० वटासम्म मात्रै उडान सञ्चालन गर्न सकिने महाप्रबन्धक केसीले बताए । सामान्य अवस्थामा आन्तरिकतर्फ जहाजको आगमन र प्रस्थान दुवै गरी दैनिक ३०० भन्दा बढी उडान हुने गरेको थियो । आन्तरिक उडानमा १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

 

आन्तरिक उडान शुरु भएसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा, चितवनलगायत गन्तव्य छन् । आज बुद्ध एयरले पहिलो उडान पोखरामा गरेको छ । बिहान ८ः०० बजे बुद्धको एटिआर ७२ जहाजले ५६ यात्रु लिएर पोखरा उडेको कम्पनीले जनाएको छ । यो उडानमा प्राधिकरणका उच्च अधिकारी, वायुसेवा सञ्चालक संघका पदाधिकारीलगायत पनि पोखरा गएका छन् । बुद्धले काठमाडौँबाट विभिन्न गन्तव्यमा आज १८ उडान गर्दैछ । कम्पनीले राजविराजवाहेक सबै गन्तव्यमा उडान भर्ने जनाएको छ ।

 

यती एयरलाइन्सले पनि पहिलो उडान पोखरा गर्दैछ । यतीले आज तीन उडान पोखरा, भरतपुर र विराटनगर उडान गर्नेछ । यता नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले असोज ५ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले काठमाडौँदेखि देशका विभिन्न १० गन्तव्यमा हुने उडान तालिका बनाएको छ ।