close

ओखलढुंगाका दुई स्थानीय तहको कोरोना खर्च ४० लाख 

ओखलढुंगाका दुई स्थानीय तहको कोरोना खर्च ४० लाख 

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाका २ स्थानीय तहले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेका छन् । सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाले कोरोना शीर्षकमा गत आर्थिक वर्षमा भएको खर्च सार्वजनिक गरेका हुन् । 

 

जिल्लाका ८ मध्ये अन्य तहले खर्चको विवरण सार्वजनिक गरेका छैनन् । अन्य गाउँपालिकामा २५ लाखदेखि  ५५ लाख रुपैंयासम्म खर्च गरेको अनौपचारिक जानकारी आए पनि यकिन विवरण नपाएको पत्रकार महासंघ ओखलढुंगाका सदस्य मनोज भट्टराईले बताए । 

 

उनका अनुसार निवेदन नै दिएर माग गरेका व्यक्तिले पनि सूचना पाएका छैनन् । सार्वजनिक गरिएको विवरण हेर्दा सदरमुकामसमेत रहेको नगरपालिका गाउँपालिकाभन्दा खर्चमा मितव्ययी देखिएको छ । 

 

मानेभन्ज्याङ गाउँपालिकाले टेन्डर आह्वानबाट राहत सामग्री खरिद गर्दा ११ लाख ९५ हजार ९ सय ९० रुपैयाँ, खाद्य संस्थानबाट राहत सामग्री चामल खरिद गर्दा २ लाख ५९ हजार २ सय र स्वास्थ्य सामग्री खरिद गर्दा ४ लाख ७८ हजार ८ सय ७६ रुपैयाँ खर्च गरेको छ । क्वारेन्टाइन निर्माण गर्दा गाउँपालिकाले २ लाख ९१ हजार ८ सय ५० रुपैयाँ खर्च गरेको जनाएको छ । 

सिद्धिचरण नगरपालिका कोरोना रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाभन्दा मितव्ययी देखिएको छ । नगरपालिकाले कोरोनाको रोकथाम तथा उपचारमा १९ लाख ८७ हजार रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले लकडाउन प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहाय व्यक्तिलाई राहत वितरणमा ५ लाख २१ हजार ७५ रुपैयाँ खर्च गरेको छ । 

 

यस्तै, औषधी तथा औषधीजन्य सामग्री खरिदमा ५ लाख ७८ हजार ९ सय ३६ रुपैयाँ, ५० शैयाको क्वारेन्टाइन स्थापना गर्न २ लाख १८ हजार ७ सय ३२ रुपैयाँ, क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताबापतको खर्च १ लाख ८१ हजार ९ सय ७२ रुपैयाँ, विपन्न दीर्घरोगी ज्येष्ठ नागरिक, संरक्षणविहीन ज्येष्ठ नागरिक, विपन्न वर्गका सुत्केरी, गर्भवती र पूर्ण अपांगता भएका व्यक्तिलाई राहत दिँदा ४ लाख ५७ हजार २ सय ३० रुपैयाँ खर्च गरेको छ ।


नगरपालिकाले आमाबाबु दुवै नभएका सुस्त मनस्थितिका बालबालिकालाई राहत सामग्री तथा कपडा र चप्पल वितरणमा २९ हजार ९५ रुपैयाँ खर्च गरेको जनाएको छ ।