close

क्लिन फिड लागू गर्न निर्देशन

क्लिन फिड लागू गर्न निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं - संसद्को विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ भित्र  विज्ञापन बोर्ड गठन गरी ‘क्लिन फिड’ लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।


सरकारले क्लिन फिड लागू गर्न ढिलाइ गरिरहेका बेला विज्ञापन नियमन ऐनमा भएको बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रसारणमा रहेका टीभी च्यानलहरूलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिले निर्देशन दिएको हो ।


समितिको निर्देशनमा विज्ञापनरहित हुन नसक्ने च्यानलहरूको प्रसारण रोक्न भनिएको छ । समिति सभापति कल्याणीकुमारी खड्काका अनुसार विज्ञापनरहित हुन नसक्ने च्यानलहरूको प्रसारण रोक्न सञ्चार मन्त्रालयले बनाएको कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न निर्देशन दिइएको छ । 


विज्ञापन ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरूको प्रसारण रोकिँदा पर्ने सकारात्मक र नकारात्मक प्रभावबारे पनि मन्त्रालयको धारणा १५ दिनभित्र पेस गर्न समितिले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।


सञ्चार मन्त्रालयका अनुसार विज्ञापन बोर्ड गठनका लागि नियमावली यही साताबाट कार्यान्वयनमा ल्याउने तयारी छ ।  बोर्ड गठनका लागि मन्त्रिपरिषद्मा नियमावली पुगे पनि स्वीकृत नहुँदा समस्या भएको हो ।  


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले बोर्ड गठनका लागि नियमावली मन्त्रिपरिषद्मा पुगेको र स्वीकृत हुन बाँकी रहेको बताए । उनका अनुसार नियमावली स्वीकृत भएलगत्तै राष्ट्रिय प्रसारण ऐन र नियमावलीले समेत विदेशी टेलिभिजनलाई विज्ञापनरहित बनाउन कुनै बाधा पर्ने छैन  ।


समिति बैठकमा सांसदहरूले ऐन कार्यान्वयमा सरकारले तदारुकता देखाउन नसकेको भन्दै आलोचना गरेका थिए । संसद्का दुवै सदनवाट पारित भई राष्ट्रपतिबाट ०७६ कात्तिक ८ मा स्वीकृति पाएको विज्ञापन ऐन हालसम्म कार्यान्वयमा आउन सकेको छैन । उक्त ऐन तुरुन्त प्रारम्भ हुने व्यवस्था छ । 


नेपाल विज्ञापन संघ (आन) ले विज्ञापन बोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अगाडि बढाउन जरुरी रहेको बताएको छ ।