close

चिशंखुगढीले सार्वजनिक गर्यो कोरोना खर्च 

चिशंखुगढीले सार्वजनिक गर्यो कोरोना खर्च 

Trulli
ADVERTISEMENT

ओखलढुंगा - जिल्लास्थित चिशंखुगढी गाउँपालिकाले विपद् कोषमा भएको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको हो । 

 

गाउँपालिकाले गत आर्थिक वर्ष ३६ लाख ८१ हजार २० रुपैयाँको स्थानीय विपद् कोष स्थापना गरेको थियो ।  उक्त कोषमा जनप्रतिनिधीको एक महिनाको सेवा–सुविधा कट्टा गरेर ५ लाख १६ हजार ५ सय, गाउँपालिकाका कर्मचारीबाट १ लाख ९ हजार ४९४, शिक्षकको सेवा–सुविधाबाट ६ लाख ३० हजार रकम योगदान गरिएको थियो ।


त्यस्तै, विभिन्न दाता, संघीय सरकार र प्रदेश सरकारबाट समेत प्राप्त अनुदान तथा केही योजनाबाट कटौती गरिएको रकमसमेत गरी ३६ लाख ८१ हजारको कोष निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । 


उक्त कोषबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत आवमा २१ लाख ५५ हजार ३९९ रुपैयाँ खर्च भएको छ । त्यसमध्ये राहत सामग्री, खाद्यान्नलगायत खरिद तथा वितरणमा १२ लाख ८० हजार १ सय २३, सामग्री खरिद तथा क्वारेन्टाइन व्यवस्थापनमा ६ लाख ६४ हजार ४ सय २०, बिरामी चेकजाँच तथा यातायात खर्च १८ हजार र कर्मचारीलाई प्रोत्साहन ४० हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । बाँकी बजेट कोषमै छ । 


उक्त कोषलाई कोरोनाका अतिरिक्त अन्य विपद्का घटनामा राहत तथा उद्धारका लागि प्रयोग गर्ने गरी बृहत कोषका रुपमा विस्तार गरिने गाउँपालिका अध्यक्ष निशान्त शर्मा बताउँछन् । अन्य केही पालिकाले कोरोना खर्च सार्वजनिक गरे पनि आयको स्रोत खुलाएका छैनन् । स्थानीय तहको विपद् कोषको आय तथा व्यय शीर्षकगत रुपमा सार्वजनिक गर्ने चिशंखुगढी गाउँपालिका पहिलो पालिका हो ।