close

लकडाउनका बीच वढ्याे रेमिट्यान्स

लकडाउनका बीच वढ्याे रेमिट्यान्स

Trulli
ADVERTISEMENT

काठमाडौं - कोरोनाका कारण विश्व अर्थतन्त्र थला परे पनि विदेशमा बसेका नेपालीहरूले पठाउने रकम विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने बढेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्समा उच्च वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 


राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको साउन महिनाको वित्तीय विवरणमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको उल्लेख छ । साउनमा भित्रिएको रेमिट्यान्स सोही अवधिमा मुलुकको  व्यापार घाटाभन्दा १६ अर्ब ५२ करोड बढी हो । 


रेमिट्यान्समा साउनमा उल्लेख्य वृद्धि देखिनुमा ५ कारण रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । पछिल्लो समय विश्वव्यापी रुपमै रेमिट्यान्सको अवस्था सुधार हुँदै गएको र त्यसको प्रभाव नेपालमा पनि परेको हुन सक्ने उनको बुझाइ छ ।


नेपालीहरू कामका लागि गएका मुख्य देशहरूमा निर्माण क्षेत्र चलायमान हुँदै जान थालेकाले पनि रेमिट्यान्समा प्रभाव पार्नु अर्को कारण रहेको उनले औंल्याए । ‘औपचारिक माध्यमबाट आउने रकमको प्रवाह बढ्दा पनि रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो । बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्स पनि बढेको छ,’ भट्टले भने । कोरोना संक्रमणका कारण गत चैत, वैशाखतिर रोकिएको रेमिट्यान्स साउनमा थपिँदा पनि त्यसको असर अहिले देखिएको उनको बुझाइ छ ।


विदेशमा रोकिएकाहरू साउनमा फर्केर आउँदा पनि रेमिट्यान्स ल्याएकाले त्यसको  केही असर देखिएको हुन सक्ने भट्टले बताए । चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा ७६ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ ।  समीक्षा अवधिमा व्यापार घाटा घाटा २२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । 


अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.९ प्रतिशतले ह्रास आएको थियो । यो महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.५ प्रतिशतले घटेको थियो । वस्तुगत आधारमा चामल, दूरसञ्चार उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, कोइला, खानेतेललगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम, यातायातका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको राष्ट्रले बताएको छ ।


कुल वस्तु निर्यात ८.९ प्रतिशतले वृद्धि भई ९ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.७ प्रतिशतले बढेको थियो । वस्तुगत आधारमा पश्मिना, ऊनी गलैंचा, आयुर्वेदिक औषधी, जडीबुटी, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो, जस्तापातालगायत वस्तुको निर्यात घटेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आयात खुम्चिएको राष्ट्र बैंकले औंल्याएको छ ।

 

भुक्तानी सन्तुलनमा बचत 

 

रेमिट्यान्समा उच्च वृद्धि भई व्यापार घाटामा कमी आउँदा मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ ।  


अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो । मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ । 


समीक्षा अवधिमा चालू खाता २५ अर्ब ४१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९ अर्ब ३४ करोडले घाटामा थियो ।