close

काेराेना नियन्त्रणमा हुम्लामा मात्र सकियाे ५ कराेड

काेराेना नियन्त्रणमा हुम्लामा मात्र सकियाे ५ कराेड

Trulli
ADVERTISEMENT

हुम्ला- जिल्लाका सातवटा स्थानीय तहले कोभिड- १९ रोकथाम, न्यूनीकरण तथा सचेतनाका साथै व्यवस्थापन र राहत वितरणमा हालसम्म करिब पाँच करोड रुपैयाँ खर्च गरेका छन् ।

 

कर्णाली  प्रेदश सरकारले प्रति गाउँपालिका १५ लाख रुपैयाँका दरले बजेट उपलब्ध गराएको भए पनि हुम्लामा रहेका सात गाउँपालिकाले अनुपातमा ५५ लाख रुपैयाँ रकम खर्च गरेका छन् । 

 

कोरोना नियन्त्रण र राहत वितरणमा हुम्लाका सातवटै पालिकाले चार करोड ६७ लाख ६८ हजार ९०३ रुपैयाँ खर्च गरेका छन् । यी स्थानीय तहले २०७६ चैतदेखि २०७७ साउनसम्मको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

 

कोभिड- १९ को रोकथाम तथा न्यूनीकरणका लागि अदानचुली गाउँपालिकाले ६० लाख खर्च गरेको छ । हुम्लीहरूलाई नेपालका विभिन्न स्थानहरूबाट जिल्लामा उद्धार गरेर ल्याउने काम गरिएको अदानचुली गाउँपालिका अध्यक्ष दलबहादुर फडेराले बताए ।

 

खार्पुनाथ गाउँपालिकाले ५४ लाख, चंखेली गाउँपालिकाले ४३ लाख, ताँजाकोट गाउँपालिकाले ५८ लाख, नाम्खा गाउँपालिकाले ३१ लाख, ता, सर्केगाड गाउँपालिकाले ४८ लाख खर्च गरेको बताइएको छ । यसरी नै सिमकोट गाउँपालिकाले ८७ लाख गरी ३ करोड ८१ लाख रुपैयाँ गाउँपालिकाको आन्तरिक बजेटबाट खर्च गरेका छन् भने प्रत्येक गाउँपालिकाले दामासाहीका हिसाबले पाएको १५ लाख रुपैयाँ गरी एक करोड पाँच लाखसहित ४ चार करोड ६७ लाख ६८ हजार ९०३ रुपैयाँ खर्च गरेको जानकारी हुम्लाका गाउँपालिकाले दिएका छन् ।

 

खार्पुनाथ गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा कोभिड- १९ का लागि खर्च भएको ५४ लाख रुपैयाँमध्ये ३३ लाख रुपैयाँ भुक्तानी गरेर बाँकी रहेको २१ लाख रुपैयाँ चालू आर्थिक वर्षमा भुक्तानी दिने तयारीमा रहेको खार्पुनाथ गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले बताए ।

 

नाम्खा गाउँपालिकाको कुल खर्च ४६ लाख रुपैयाँ भएको छ, जसमा प्रदेशबाट प्राप्त १५ लाख र गाउँपालिको ३१ लाख रुपैयाँ छ । यस गाउँपालिकाले २५ लाख रुपैयाँ भुक्तानी गरे पनि बाँकी रकम चालू  आर्थिक वर्षमा भुक्तानी गरिने लेखा अधिकृत अश्विनी देवकोटाले बताए ।

 

यातायातको एक मात्र उपाय हवाई जहाज रहेको हुम्लामा हुम्लीहरूलाई नेपालका विभिन्न स्थानहरूबाट उद्धार गर्नुपरेकाले खर्च पनि धेरै हुने गरेको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाको भनाइ छ ।