close

कोरोना नियन्त्रणमा काठमाडौंका नगरपालिकाले कति गरे खर्च ?

कोरोना नियन्त्रणमा काठमाडौंका नगरपालिकाले कति गरे खर्च ?

Trulli
ADVERTISEMENT

काठमाडौं-  महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले काठमाडांै उपत्यकामा भयावह स्थिति सिर्जना गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकार आ–आफ्नो तवरबाट लागिपरेका छन् ।


आइसोलेसन निर्माण, खाना तथा राहत वितरण, एम्बुलेन्स सेवा भुक्तानी, डिसइन्फेक्सन औषधी छर्कने, स्वास्थ्य सामग्री वितरणलगायतमा नगरपालिकाले काम गरिरहेका छन् । काठमाडांै महानगरपालिकाबाहेक अन्य नगरपालिकाले आइसोलेसन वार्डसमेत निर्माण गरिसकेका छन् ।


काठमाडौं जिल्लाका ११ वटै नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि कोरोना कोष निर्माण गरी बजेटसमेत छुट्याएका छन् ।

 

काठमाडाैं महानगर


काठमाडौं महानगरपालिकाले हालसम्म कोरोना नियन्त्रणमा ८ करोड ७४ लाख ३९ हजार खर्च गरेको छ । खाना तथा राहत वितरण, एम्बुलेन्स सेवा भुक्तानी, डिसइन्फेक्सन औषधी छर्कने, जनप्रतिनिधि तथा कर्मचारीको कोरोना बिमामा सो रकम खर्चिएको  छ ।


महानगरको ६ चैतमा बसेको कार्यपालिका बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोड बजेट विनियोेजन गरेको थियो ।


उक्त बजेटबाट हालसम्म  ८ करोड ७४ लाख ३९ हजार खर्च भएको काठमाडौं महानगरका सूचना अधिकारी नवराज ढकालले जानकारी दिए । महानगरका अनुसार विभिन्न संघसंस्थालाई केन्द्रबाट राहत सामान वितरण २४ लाख ५६ हजार, महानगर क्षेत्रभित्र औषधी छर्कन १९ लाख २४ हजार ७ सय, एम्बुलेन्स सेवा भुक्तानी ८ लाख ३७ हजार ५ सय, प्रसारणमा २२ लाख २ हजार ७ सय खर्च भएको छ ।


त्यसैगरी कोभिड रोकथाम तथा नियन्त्रण सामग्री खरिद (केन्द्रीय स्तर) १ करोड २४ लाख ९ सय, वडा स्तर ५९ लाख ८७ हजार ६ सय, धुनिबेंसी, ककनी, तारकेश्वर नगरपालिकालाई राहत वितरण  अनुदानमा ३३ लाख खर्च भएको छ ।


महानगरका कर्मचारी तथा जनप्रतिनिधिका निम्ति कोरोना बिमाका लागि लाख ८९ हजार २ सय रुपैयाँ खर्च भएको  छ ।      


गोकर्णेश्वर नगरपालिका


गोकर्णेश्वर नगरपालिकाले १ करोड ७५ लाख खर्च गरेको छ । नगरपालिकाले कोरोना रोकथामका लागि भन्दै ५ करोड बजेट छुट्याएको थियो । आइसोलेसन, राहत वितरण, खाद्यान्न, औषधीजन्य सामग्रीमा सो खर्च भएको नगरपालिकाले जनाएको छ ।


चन्द्रागिरि नगरपालिका

 

चन्द्रागिरिले कोरोना नियन्त्रण तथा  रोकथामका लागि २ करोड २७ लाख १६ हजार ९ सय खर्च गरेको छ । क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि २२ लाख खर्च भएको छ ।


एम्बुलेन्स तथा औषधीमा ४० लाख ८१ हजार खर्च भएको छ । राहत तथा खाद्यान्न वितरणमा १ करोड ६४ लाख ३१ हजार ९ सय खर्च भएको नगरपालिकाले जनाएको छ ।


कागेश्वरी मनोहरा नगरपालिका


कागेश्वरी मनोहराले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड २४ लाख ९५ हजार २ सय खर्च गरेको छ  । आइसोलेसन निर्माण, व्यवस्थापन, औषधीजन्य सामग्री खरिद, पिपिई, एम्बुलेन्स खर्च राहतलगायतमा सो खर्च भएको नगरपालिकाले जनाएको छ ।   


शंखरापुर नगरपालिका

शंखरापुरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ लाख ९१ हजार खर्च गरेको छ । राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य सामग्री वितरणका लागि नगरपालिकाले सो रकम खर्च गरेको छ ।


कीर्तिपुर नगरपालिका


कीर्तिपुरले कोरोना रोकथामका लागि हालसम्म १ करोड खर्च गरेको छ । पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ । त्यसका लागि ५० लाख र राहत, खाद्यान्न, स्वास्थ्य सामग्री खरिदका लागि ५० लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।