close

कोरोनाका नाममा चुलाचुलीले गर्‍यो ५४ लाख खर्च

कोरोनाका नाममा चुलाचुलीले गर्‍यो ५४ लाख खर्च

Trulli
ADVERTISEMENT

इलाम - चुलाचुली गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण गर्न ५४ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण गर्न जम्मा गरेको रकमको ८६ प्रतिशत खर्च गरेको सूचना अधिकारी तीर्थराज खरेलले जानकारी गराए ।


कोरोना रोकथाम गर्न गाउँपालिकाले विपद् व्यवस्थापन कोषको ६३ लाख ३४ हजार ४५० रुपैयाँ ४४ पैसा जम्मा गरेको थियो । 


गाउँपालिकाले महामारीको समयमा एक हजार ५३९ घर परिवारलाई राहत वितरण गरेको छ । राहत वितरणमा १८ लाख ४९ हजार ६७२ रुपैयाँ खर्च भएको छ ।


राहतमा प्रतिव्यक्ति पाँच किलोका दरले चामल दिइएको थियो । चामलसँगै दाल, नुन, खाने तेल, सरसफाइका सामग्री पनि वितरण गरिएको बताइएको छ । 

 

स्थानीय क्षेत्रका असंगठित क्षेत्रका मजदुर, असहाय, विपन्न घर परिवार तथा व्यक्तिलाई छुट्टाछुट्टै मापदण्ड बनाएर राहत वितरण गरिएको सूचना अधिकारी खरेलले बताए ।


उनका अनुसार पालिका बाहिरबाट आउनेलाई क्वारेन्टाइनका लागि खाट, सिरक, झुल, इन्टरनेट जडानमा एकमुष्ट ७२ हजार रुपैयाँ खर्च भएको छ । क्वारेन्टाइनमा बस्नेलाई आवश्यक खाजा तथा खानामा ४३ हजार ९७० रुपैयाँ खर्च भएको छ । 


पालिका आउने नाका सुरक्षा, यातायात शीर्षकमा एक लाख ४७ हजार ८२० रुपैयाँ खर्च भएको छ । स्वाथ्यकर्मीलाई ७९ हजार १०० रुपैयाँको पीपीई खरिद गरिएको छ । स्वास्थ्य उपकरण भीटीएललगायतमा ७६ हजार २७७ रुपैयाँ खर्च भएको तथ्यांक छ ।

 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण शीर्षकमै यातायातको असुविधा भएपछि १३ लाख रुपैयाँभन्दा बढी बाटो मर्मतमा समेत खर्च गरेको जनाइएको छ ।


विपद् व्यवस्थापन गर्न कर्मचारीको तर्फबाट चार लाख २२ हजार ६८६ रकम संकलन गरिएको थियो । पालिकामा काम गर्ने शिक्षक, शिक्षिकाबाट नौ लाख ११ हजार, अन्य व्यक्ति र संघसंस्थाले पाँच लाख १७ हजार ६०६ रुपैयाँ संकलन भएको थियो ।


गाउँपालिकाले विपद् व्यवस्थापन कोषको विभिन्न शीर्षकको रकमान्तर गरेर ३९ लाख ८२ हजार २१८ रुपैयाँ जम्मा गरेको थियो । क्वारेन्टाइनमा बसेका १७५ जनामा २४ महिला र १५१ जना पुरुष थिए । यीमध्ये चार जनाको कोरोना पोजिटिभ देखिएकामा उपचारपछि घर फर्किसकेका छन् ।


गाउँपालिकाले सुरुमा विद्यालयमा क्वारेन्टाइन संचालन गरेको थियो । अहिले कंचनजंघा सेमेचोङ मन्दिरको सामुदायिक भवनमा पाँच बेडको आइसोलेन वार्डसहितको अस्पताल संचालन गरेको छ । गाउँपालिकाले अस्पतालसँगै ५० बेडको क्वारेन्टाइनको व्यवस्थापनसमेत गरेको छ ।