close

जडीबुटीले भरियो सिमकोट विमानस्थल, कारोबार पनि चम्कियो

जडीबुटीले भरियो सिमकोट विमानस्थल, कारोबार पनि चम्कियो

Trulli
ADVERTISEMENT

हुम्ला– अति संवेदनशील मानिने हुम्लाको सिमकोट विमानस्थल क्षेत्र व्यापारीहरुको जडीबुटी भण्डार बनेको छ ।


सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन्, तर यतिबेला व्यापारीको जडीबुटी ओसारपसार गर्ने काम चलिरहेको हुनाले सिमकोट विमानस्थलको क्षेत्रमा व्यापारीहरुको जडिबुटीले भरीभराउ भएको छ ।


सिमकोट विमानस्थलको प्रवेशद्धारको मुल ढोकादेखि विमानस्थलको संवेदनशील क्षेत्रसम्म व्यापारीहरुले जडिबुटी थुपार्दा फोहोर समेत बढेको छ । जहाजको उडान १० बजे पछि सकिए लगत्तै व्यापारीहरुले प्रवेशद्धारको ढोका क्षेत्र भित्रको खाली ठाउँमा प्लाष्टिकमा जडिबुटी सुकाउने गरेका छन् ।


संवेदनशील मानिएको सिमकोट विमानस्थलमा व्यापारीहरुले जताततै जडीबुटी थुपारिदिँदा आवतजावत गर्न समेत अप्ठ्यारो हुने गरेको यात्रुहरुको गुनासो छ ।

 
विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारी भने विमानस्थलको टर्मिनल र जहाज पार्किङ्ग क्षेत्र बाहेक अन्य स्थानमा जडीवुटी राख्न दिएको बताउँछन् ।  जहाज पार्किङ्ग क्षेत्र, यात्रु चेकजाँच तथा संवेदनशील क्षेत्रमा कसैले सामग्री राख्न नपाउने तर अन्य खाली ठाउँमा पहिला देखि नै राख्ने गरेको प्रमुख अधिकारीले बताए ।

जडीवुटी संकलन अहिलेसम्मकै उच्च

हुम्लाका व्यापारीहरुले हालसम्मकै सबैभन्दा धेरै जडीबुटी संकलन गरेका छन् । एक जना ब्यापारीले पाँच सय क्वीन्टलसम्म जडीबुटी खरिद गरेका छन् । संकलन भएको जडीबुटीमध्ये २ हजार क्वीन्टल सदरमुकाम सिमकोट आइपुगेको छ ।


५० देखि ४ सय क्वीन्टलसम्म जडीबुटी खरिद गर्ने व्यापारीको संख्या २० भन्दा बढी छ । अझै १ हजार ४ सय क्वीन्टल जडीबुटी संकलन भएको क्षेत्रबाट आउने क्रम जारी छ ।


अहिले सिमकोट विमानस्थल क्षेत्रमा जताततै जडीबुटी मात्र देखिन्छ । सिमकोटमा आइपुगेको जडीबुटी अधिकांश खार्पुनाथ गाउँपालिकाको छाचौरबाट आएको हो ।


चुवाखोला, लुड्फे रानी सैना र चंखेलीबाट पनि जडीबुटी संकलन हुने गरेको छ । यस वर्ष विभागबाट ३ सय ४० टन अर्थात ३ हजार चार सय क्वीन्टल जटामासी संकलनको पुर्जी व्यापारीलाई दिएको डिभिजन वन कार्यालयका प्रमुख निरज झाले बताए ।


हाल संकलन कार्य भइरहेको कारण विभागबाट छुट पुर्जी ल्याएपछि कार्यालयले नापतौल गर्नेछ । संकलन हुने क्षेत्रमा व्यापारीले प्रतिकेजी ४ सय ५० रुपैयाँसम्म मूल्य तिरेका छन् ।  सदरमुकाम सिमकोटसम्म ढुवानी दर प्रतिकेजी १ सय ४० रुपैयाँसम्म परेको व्यापारीले बताएका छन् ।