close

गरिबलाई झन् गरिब बनायो जनता आवासले

गरिबलाई झन् गरिब बनायो जनता आवासले

Trulli
ADVERTISEMENT

मुगु– हिमाली जिल्ला मुगुका जनता आवासका घर बजेट अभावका कारण हालसम्म पनि बन्न सकेका छैनन् । नेपाल सरकारले विगत केही वर्षदेखि गरिव, विपन्न, दलित वस्तीहरूलाई अनुदानमा दिँदै आएको जनता आवास कार्यक्रमअन्तर्गत मुगु जिल्लामा संचालनमा आएका जनता आवास घर बजेट नहुँदा अलपत्र परेका हुन् ।


करिब ९० प्रतिशत घर निर्माण भइसक्दा पनि सरकारले समयमै रकम नदिँदा जनता आवासका घर अलपत्र अवस्थामा रहेको स्थानीयले बताएका छन् । समयमै रकम नपठाउँदा यहाँका करिब ३५० दलित घर परिवारका छानो हाल्न पनि पाएका छैनन् ।


पछिल्लो समय मुगुमा चिसो बढ्दै गएकाले छानो छाप्न नपाउँदा चुहिने छानोमै दिन रात काट्न यहाँका दलित परिवार बाध्य छन् । विगतमा सरकारले अनुदानबाट घर निर्माण गरिदिन्थ्यो, अब हाम्रा चुहिने छानामा बस्ने दिन हटे भनेर खुसी थियो तर भनेकै दिन, समयमा सरकारले प्राविधिक नपठाउँदा घर निर्माणमा पूर्ण बिराम लागेको यहाका दलितहरूको गुनासो छ ।


जनता आवास घर पाएको करिब तीन वर्ष बितिसक्यो तर हालसम्म पाउनुपर्ने अन्तिम किस्ता पनि पाएका छैनन् उनीहरूले । जनता आवास घरको कार्यक्रमबाट उल्टै गरिबलाई झन् गरिब बनाउने र थप ऋण लाग्ने काम मात्र भएको अरू हुन नसकेको दुखेसो छ स्थानीयको ।

 
बजारबाट साहुको जस्ता, सिमेन्ट, सरिया ल्याएका छन् । एकातर्फ साहुले रकम मागेर हैरान छन् उता सरकार रकम नदिएर कट्टा गर्न थालेको छ । पहिला किस्तामा एक लाख ५० हजार रुपैयाँभन्दा बढी रकम दिएको थियो । अब त्यो पनि सकियो । जुन रकम दिएको थियो, त्यो मिस्त्री ज्याला, ढुंगा, काठ ढुवानी गर्दे अझै बढी रकम गोजीबाट झिकेर सकिएको छ उनीहरूको ।


‘यो घर दिनु भन्दा नदिनु बेस् । हामी गरिब, त्यसैमा पनि दलितलाई झन् गरिब बनाउने कामबाहेक केही भएन’, छायानाथ रारा नगरपालिका– १३ रुगा गाउँका ७५ वर्षीय लालसिंह लावडले भने ।


उनी मात्र होइन, उस्तै कथा सोरु गाउँका कर्मा लावडको पनि छ । जनता आवास कार्यक्रमको घर सरकारी अनुदानको  पाउँदा निकै खुसी भए उनी तर हिजोआज निकै दुःखी छन् । उनले पनि अन्तिम किस्ता रकम पाएका छैनन् ।


‘समयमा प्राविधिक नआउँदा घर पहिला एक तल्लाको बनाउने सल्लाह पाइयो र जस्तासहित छानो लगाइयो । पछि एक पटक प्राविधिक आएर दुई तल्लाको हो, पुर्न लगाउनुपरर्‍यो भने । जस्ता निकाल्दा सबै प्वाल पर्‍यो, त्यो पनि घाटा भयो’, उनले भने ।


यस्तै दुःख यी दुई जनाको मात्र होइन, मुगु जिल्लाभरका जनता आवास घर पाएका ३५० जनाको दुःख रहेको छ ।


आर्थिक वर्ष २०७५/०७६ देखि मुगु जिल्लामा संचालन गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मुगु जिल्लामा ३५० घर धुरीले यो कार्यक्रम पाएका हुन् । त्यसबेला मुगु जिल्लामा जनता आवास कार्यक्रमका लागि कुल बजेट नौ करोड रुपैयाँ अनुमान गरिए तापनि नेपाल सरकारबाट तीन करोड रुपैयाँ मात्र विनियोजन भएको र बाँकी छ करोड रुपैयाँ अपुग भएपछि लाभान्वित वर्गले दुःख भोग्नुपरेको हो ।


पटकपटक थप रकमका लागि जिल्लाबाट सबै प्रक्रिया मिलाएर प्रदेश सरकार र सरोकारवाला निकाय सबैमा पठाइसकिएको छ । अन्य जिल्लामा रकम आएर भुक्तानी भइसकेको भए पनि मुगु जिल्लामा रकम आएको छैन ।


यस आवमा मात्र ३५ लाख रुपैयाँ आएको छ । यो रकम कसरी वितरण गर्ने भन्ने सोचमा रहेको र जिल्लाभर ८० प्रतिशत घर निर्माण भइसकेका पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख मोहनसिंह कार्कीले बताए । ‘रकम अभावले जनता आवास घर हिजोआज अलपत्र परेको छ’, कार्कीले भने ।


जनता आवास कार्यक्रमबाट एउटा घरको बजेट तीन लाख ३२ हजार रुपैयाँ भए पनि स्थानीय दलित वर्गका मानिसहरूले दुई किस्ता गरी एक लाख ५० हजार रुपैयाँजति मात्र भुक्तानी पाएका छन् ।