काठमाडौं– राष्ट्र बैंकले विस्तारै सुधारिँदै गएको अर्थतन्त्र पुनः थिलथिलो अवस्थामा पुग्न थालेको निचोड निकालेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव’ सम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनमा यस्तो निचोड निकालेको हो ।
पछिल्लो समयको सर्वेक्षण नतिजाले २०७७ असारको तुलनामा १४ वैशाख २०७८ सम्म करिब औसत ८१ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालनमा आएकाले उल्लेख्य सुधार भएको देखाएको छ । यो समय औसत ४ दशमलव २ प्रतिशत उद्योग, व्यवसाय सञ्चालन हुन सकेका थिएनन् भने १४ दशमलव ६ प्रतिशत भने आंशिक सञ्चालनमा थिए ।
सर्वेक्षणको नतिजालगत्तै १६ वैशाखदेखि कोभिड–१९ महामारीको दोस्रो लहरले अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेकाले अर्थतन्त्र पुनः प्रभावित हुन सक्ने राष्ट्र बैंकको ठहर छ । राष्ट्र बैंकले पछिल्लो पटक गरेको सर्वेक्षण नतिजाले भने २०७७ असारको तुलनामा २०७८ वैशाखमा उद्योग, व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ ।
गत असारको तुलनामा उद्योग, व्यवसायको उत्पादन एवं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको देखिन्छ । यद्यपि अझै कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग, व्यवसाय पुग्न सकेको देखिँदैन । सर्वेक्षणअनुसार कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन, कारोबार रहेकामा २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१ दशमलव ४ प्रतिशत पुगेको थियो ।
‘गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन, कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेस्टुरेन्ट भने उत्पादन तथा कारोबारको स्थिति ४० दशमलव ८ प्रतिशत मात्र पुगेको छ, जुन अन्य व्यवसायभन्दा सबैभन्दा कम हो,’ सर्वेक्षणमा भनिएको छ ।
राष्ट्र बैंकको सर्वेक्षणअनुसार वैशाखको आधा महिनासम्म ७४ दशमलव ४ प्रतिशत घरेलु उद्योग पूर्ण सञ्चालनमा थिए । यस्तै, ७९ दशमलव २ प्रतिशत लघु उद्यम तथा साना खुद्रा व्यापार, ८१ दशमलव ७ प्रतिशत साना १५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएका, ७४ प्रतिशत मझौला १५ करोडदेखि ५० करोडसम्म र ९० दशमलव ५ प्रतिशत ठूला ५० करोड रुपैयाँ माथिका स्थिर पुँजी भएका उद्योग सञ्चालनमा आइसकेका थिए ।
राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले सुधार हुन थालेको अर्थतन्त्र पुनः प्रभावित हुन सक्ने बताए । कोभिड–१९ को संक्रमण रोक्दै यथाशक्य आर्थिक गतिविधि चलायमान बनाउन उनको सुझाव छ ।
यसअघि व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे २०७७ असार र मंसिरको सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न ५–१४ वैशाख २०७८ सम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण गरिएको थियो । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग, व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको छ ।
कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी, व्यवसायीबाट तथ्यांक संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दीपछि औसतमा ६१ दशमलव ०३ प्रतिशत उद्योग, व्यवसाय सञ्चालन हुन नसकेको र ४ दशमलव १ प्रतिशत मात्र पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो ।
त्यसैगरी बन्दाबन्दी केही खुकुलो भएपछि २०७७ मंसिरमा पहिलो पुनरावृत्ति सर्वेक्षण गरिएको थियो । असारको तुलनामा उद्योग, व्यवसायको आकारअनुसार सबै प्रकारका उद्योग, व्यवसायको उत्पादन, कारोबार बढेको पाइएको छ ।
तर, कोभिड महामारी आउनुअघिको अवस्थामा भने पुगिसकेका छैनन् । गत असारको तुलनामा उद्योग, व्यवसायले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारीअघिको अवस्थामा भने अझै पुग्न सकेको छैन ।
कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७ दशमलव ५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग, व्यवसायले २०७८ वैशाखमा ९३ दशमलव ८ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला तथा ठूला उद्योग, व्यवसायले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ ।
पूर्ण रूपमा सञ्चालनमा रहे पनि मझौला तथा ठूला उद्योग, व्यवसाय आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेका कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारी दरमा थप कटौती भएको अनुमान छ ।
असारको तुलनामा उद्योग, व्यवसायको औसत तलब, ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारीअघि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३ दशमलव ४ प्रतिशत रहेको यस्तो खर्च २०७८ वैशाखमा आइपुग्दा ८८ दशमलव ५ प्रतिशत पुगेको देखिएको छ ।
यस्तै, खानी तथा उत्खनन क्षेत्रका उद्योग, व्यवसायको औसत तलब, ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्यास तथा पानी र सञ्चार क्षेत्रका उद्योग, व्यवसायको औसत तलब, ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको सर्वेक्षणले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार अनलाइन तथा टेलिफोनमार्फत गरेको उक्त सर्वेक्षणमा सहभागी अधिकांश उद्योग, व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, पुनर्कर्जा तथा सहुलियत कर्जा पाउन कठिन भएकोजस्ता समस्या रहेको बताएका छन् ।
यस्तै, सर्वेक्षणका क्रममा सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी, व्यवसायीले कोभिड–१९ का कारण बजार माग घटेर चालू खर्च धान्न समस्या रहेको कारण उद्योग, व्यवसाय सञ्चालनमा ल्याउन नसकिएको जवाफ दिएका छन् । उद्योग, व्यवसाय सञ्चालनमा ल्याउन नसकेका केहीले व्यक्तिगत कारण भनेका छन् भने केही भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएका छन् ।