close

यार्सा संकलनमा गाउँपालिकाले लगायो रोक

यार्सा संकलनमा गाउँपालिकाले लगायो रोक

Trulli
ADVERTISEMENT

मुगु– कर्णाली प्रदेशको बहुमूल्य जडीबुटीको खानी मुगुमा यो वर्ष पनि यार्सा संकलनमा रोक लगाइएको छ । पछिल्लो समय कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारिरहेपछि मुगुम कार्मारोङ गाउँपालिकाको गत २ जेठको कार्यपालिका बैठकले यो वर्ष यार्सा सकलनमा रोक लगाउने निर्णय गरेको हो । 

 

१८ वैशाखको कार्यपालिकाको बैठकले यार्सा संकलन खुलाउने निर्णय गरेको थियो । तर, विस्तारै गाउँपालिकामा कोरोनाले लपेटेपछि बहुमूल्य जडीबुटी यार्सा संकलन बन्द गर्नुपरेको हो । 

 

जडीबुटीको खानी भएको यो गाउँपालिकामा कोरोना महामारीकै कारण यार्सा संलकनमा रोक लगाइएको हो । कर्णाली प्रदेशका हिमाली जिल्लामा पाइने बहुमूल्य यार्सा यहाँका स्थानीयको प्रमुख आयस्रोत हो । 

 

यार्सा संकलनले झनै ठूलो विपत्ति ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम देखिएकाले संकलनमा रोक लगाइएको मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

 

गाउँपालिकाका अनुसार सानो कोइकी, ठूलो कोइकी, हाङदाङ खोला, छापाखोला, डोल्फु पाटन, रिमाटलगायत दर्जनौँ पाटनमा पाइने यार्सा संकलनका लागि बाहिरी जिल्ला र जिल्लाभित्रबाटै हजारौँ मानिस जमघट हुने हुँदा महामारी फैलिने आशंकामा रोक लगाइएको हो ।

 

‘यार्सा खोज्ने क्रममा सबै भेला हुने हुँदा कोरोना संक्रमण फैलिने डरले वर्षका लागि संकलनमा रोक लगाउने निर्णय गाउँपालिकाको बैठकले गरेको हो’, मुगम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले भने । 

 

विगत वर्षमा बहुमूल्य जडीबुटी यार्सा संकलनका लागि बच्चा, युवायुवती, वृद्धवद्धा, विद्यार्थीसमेत पाटन क्षेत्रमा जाने गरेका थिए । यार्साबाट मात्रै पालिकाले लाखौँ रुपैयाँको आम्दानी लिँदै आएको थियो ।