close

खोटाङका १० स्थानीय तहलाई साढे ३ अर्ब बढीको बजेट

खोटाङका १० स्थानीय तहलाई साढे ३ अर्ब बढीको बजेट

Trulli
ADVERTISEMENT

खोटाङ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि पेस गरेको आयव्ययमा खोटाङका १० स्थानीय तहलाई साढे ३ अर्ब रुपैयाँ बढी बजेट विनियोजन भएको छ । खोटाङका लागि ३ अर्ब ५७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।

 

समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि ६६ करोड ५६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि ४४ करोड ६० लाख, ऐँसेलुखर्क गाउँपालिकाले २९ करोड ७० लाख रुपैयाँ पाएका छन् ।

 

यस्तै, केपिलासगढी गाउँपालिकाका २८ करोड २८ लाख, खोटेहाङ गाउँपालिकालाई ४० करोड ४४ लाख बजेट विनियोजन भएको छ । जन्तेढुंगा गाउँपालिकालाई ३१ करोड ३५ लाख, दिप्रुङ चुइचुम्मालाई ३९ करोड ७४ लाख, रावाबेँसी गाउँपालिकाका लागि २८ करोड रुपैयाँ बजेट प्राप्त भएको छ ।

 

बराहपोखरी गाउँपालिकालाई २४ करोड ६३ लाख र साकेला गाउँपालिकाका लागि २४ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन भएको अन्तरसरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०७८÷७९ को सारांश प्रतिवेदनमा उल्लेख छ ।

 

हलेसी गुरुयोजना तयार पार्न बजेट

 

सरकारले खोटाङको त्रि–धार्मिक स्थल हलेसी गुरुयोजना तयार पार्न बजेट छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को अनुमानित आयव्ययसम्बन्धी बजेट वक्तव्यमा हलेसीसहित सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथिभरालगायत धार्मिक पर्यटकीय स्थलको संरक्षण एवं विकासका लागि गुरुयोजना तयार पार्न बजेट छुट्याइएको बताए ।

 

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीको २०७६ मै गुरुयोजनाको प्रस्तावित प्रतिवेदनलाई पारित गरिसकिएको अवस्थामा सरकारले गुरुयोजना तयार पार्न बजेट छुट्याएको जानकारी दिएको हो ।

 

सरकारको नयाँ बजेट भाषणमा गुरुयोजना निर्माणका क्रममा विनियोजन गरिएको बजेटको मात्रा भने खुलाइएको छैन । विभिन्न चरणमा बनाइएको हलेसीको गुरुयोजनाको प्रस्तावित प्रतिवेदनलाई ११ र १२ माघ २०७६ मा काठमाडौंमा आयोजित हलेसी गुरुयोजना निर्माणसम्बन्धी दुईदिवसीय बृहत् अन्तरक्रिया कार्यक्रमले परामर्शका आधारमा आवश्यक संशोधन गर्दै पारित गरेको थियो ।

 

हलेसी तथा हलेसी आसपासका पर्यटकीय क्षेत्रको बृहत्तर विकासका लागि निर्माण गरिएको गुरुयोजनालाई लामो समयपछि अन्तिम रूप दिइएको प्रतिनिधिसभा सदस्य एवं हलेसी गुरुयोजना निर्माण समितिका संयोजक विशाल भट्टराईले बताएका थिए ।

 

हलेसी र हलेसी आसपासमा भएका प्राकृतिक स्थलमा आकर्षक संरचना निर्माण गरेर पर्यटकलाई केही दिन अड्याउने वातावरण सिर्जना गर्ने गरी गुरुयोजनालाई अन्तिम रूप दिइएको थियो । हलेसीको व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाको पहलमा २०७५ जेठदेखि गुरुयोजना सम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो ।

 

हलेसीमा लिफ्ट खानेपानी आयोजना निर्माण

 

अर्थमन्त्री विष्णु पौडेलले खोटाङकै हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसीमा लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेका छन् ।

 

सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको ७ वडाको खानेपानीको विकराल समस्या हल गर्न दूधकोसीको पानी निकाल्न ९६ करोड रुपैयाँ बढीको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम भइरहेको अवस्थामा सरकारले लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

 

दूधकोसी जलविद्युत् आयोजना निर्माण हुने

 

सरकारले आगामी आर्थिक वर्षदेखि ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण सुरु गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्यमा आगामी वर्षदेखि खोटाङको रावाबेँसी गाउँपालिका वडा नम्बर ३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेको सिमानामा पर्ने जलविद्युत् आयोजना निर्माण सुरु गर्ने उल्लेख छ ।

 

सरकारले नयाँ बजेट भाषणमार्फत दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीयमा उत्साह जगाएको छ । लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढिरहेको छ ।