close

पश्चिम नवलपरासीले पायो २ अर्ब ८४ करोड बढी बजेट

पश्चिम नवलपरासीले पायो २ अर्ब ८४ करोड बढी बजेट

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीका ७ पालिकाका लागि संघीय बजेट २ अर्ब ८४ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ ।


अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको बजेटमा जिल्लाका ३ नगरपालिकाले जम्मा १ अर्ब ४६ करोड ८७ लाख र ४ गाउँपालिकाले १ अर्ब ३७ करोड २९ लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त गर्नेछन् ।


बजेटमा आर्थिक वर्ष २०७८÷७९ का लागि समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानस्वरूप उक्त बजेट विनियोजन गरिएको हो ।
यससमध्ये चालूतर्फ २ अर्ब ४७ करोड ५२ लाख र पुँजीगततर्फ ३६ करोड ६४ लाख रुपैयाँ रहेको छ ।


जिल्लाकै पुरानो नगरपालिका रामग्रामका लागि सबैभन्दा बढी ५१ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । रामग्रामले चालूतर्फ ४१ करोड २५ लाख र पुँजीगततर्फ ९ करोड ८१ लाख रुपैयाँ छ ।


अर्थ मन्त्रालयका अनुसार बर्दघाट नगरपालिकाका लागि चालूतर्फ ४४ करोड ४३ लाख र पुँजीगततर्फ ४ करोड ९० लाख गरी ४९ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


सुनवलले ५ करोड ७० लाख पुँजीगत र ४० करोड ८७ लाख चालू गरी कुल ४६ करोड ४२ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।


प्रतापपुर गाउँपालिकाले चालूतर्फ ३६ करोड २८ लाख र पुँजीगत ४ करोड १ लाख गरी ४० करोड २९ लाख बजेट र सुस्ताले ५ करोड ४० लाख पुँजीगत एवं २५ करोड ९९ लाख चालूतर्फ गरी ३१ करोड ३९ लाख रुपैयाँको बजेट पाएको छ ।


सरावल गाउँपालिकाले २९ करोड ४४ लाख चालू र ४ करोड २२ लाख पुँजीगत गरी ३३ करोड ६६ लाख रुपैयाँ पाएको छ । पाल्हीनन्दन गाउँपालिकाका लागि ३१ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यसमा २९ करोड ३५ लाख चालूतर्फ र २ करोड ६० लाख रुपैयाँ पुँजीगततर्फ रहेको छ ।