close

ऋषिङमा एकल पुरुषलाई भत्ता : बुहारीलाई सम्मान !

ऋषिङमा एकल पुरुषलाई भत्ता : बुहारीलाई सम्मान !

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता उपलब्ध गराउने भएको छ । संघीय सरकारले एकल महिलालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

 

एकल महिलाले मासिक ३ हजार रुपैयाँ भत्ता बुझ्छन् । एकल पुरुषले सरकारबाट एक सुको पाउँदैनन् ।  ऋषिङले भने आगामी आर्थिक वर्षबाट एकल पुरुषलाई पनि भत्ता दिने घोषणा गरेको हो ।

बिहीबार नवौँगाउँसभामा आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने, ‘गरिब तथा विपन्न एकल पुरुषलाई एकल पुरुष भत्ता उपलब्ध गराइनेछ ।’ गाउँपालिकाले सासू–ससुराको राम्रो स्याहारसुसार गर्ने असल बुहारीलाई सम्मान गर्ने नीतसमेत अवलम्बन गर्ने जनाएको
छ ।

 

अध्यक्ष श्रेष्ठले भने, ‘ऋषिङ गाउँपालिकामा आमा समूहको कार्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘आमासँग जनप्रतिनिधि कार्यक्रम’ सञ्चालन गरिनेछ । कार्यक्रमअन्तर्गत वृद्ध अशक्त आमाबा तथा सासू–ससुरालाई राम्रो स्याहारसुसार गर्ने उत्कृष्ट बुहारीलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।’ यो कार्यक्रमले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सघाउने उनको विश्लेषण छ ।

 

यस्तै, गाउँपालिकाले अपांगता भएका व्यक्तिको जीवनयापनलाई सहज र सरल बनाउन सरकारले सामाजिक सुरक्षा भत्ता नदिने ‘ग’ र ‘घ’ वर्गको अपांगता परिचयपत्र भएकालाई वार्षिक एकमुष्ठ भत्ता उपलब्ध गराउने नीति बनाएको छ ।

 

एक घर एक धारा, खरको छानोमुक्त घर, प्राविधिक विद्यालय सञ्चालन, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, सहाराविहीनलाई घर बनाउनेजस्ता आकर्षक नीति गाउँपालिकाले लिएको छ ।

 

कृषिमा आकर्षण बढाउन बाँझो जग्गामा खेती गर्न चाहने कृषकलाई प्रोत्साहन गर्दै अनुदान उपलब्ध गराउने गाउँपालिकाको योजना छ । गाउँपालिकाको केन्द्रबाट सबै वडामा पुग्ने सडकलाई कालोपत्रे गर्ने भएको छ ।

 

५२ करोडको बजेट सार्वजनिक

 

ऋषिङले बिहीबार गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५२ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

 

गाउँपालिकालाई संघीय सरकारबाट समानीकरण अनुदानमा १० करोड, राजस्व बाँडफाँटमा ८ करोड ५४ लाख ३० हजार, प्रदेश सरकारको समानीकरण अनुदानमा १ करोड १९ लाख ५३ हजार, राजस्व बाँडफाँटबाट ६४ लाख र संघीय सरकारको ससर्त अनुदानमा २१ करोड ८६ लाख रुपैयाँ आम्दानी हुने बजेटमा उल्लेख गरिएको छ ।