close

रूपन्देहीका १५ स्थानीय तहको बजेटः कोरोना महामारी, पूर्वाधार र कृषिलाई प्राथमिकता

रूपन्देहीका १५ स्थानीय तहको बजेटः कोरोना महामारी, पूर्वाधार र कृषिलाई प्राथमिकता

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीका स्थानीय तहहरूले कोरोना महामारी नियन्त्रण, पूर्वाधार विकास, शिक्षा, पर्यटन र कृषिलाई विशेष महत्त्व दिएर आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएका छन् ।  अधिकांश स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । स्थानीय तहमा सञ्चालित गौरवका योजनालाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।

 

आन्तरिक विवादका कारण जिल्लाको ओमसतिया गाउँपालिकाले भने बजेट ल्याउन सकेन । सिद्धार्थनगरले बहुउद्देश्यी कृषि बजार भवन, पर्यटकीय गेट, पार्क, डन्डामा बोटिङ सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।  स्थानीय तहले खेलकुद, विपन्न वर्ग उत्थान, युवा स्वरोजगार, क्षमता विकासजस्ता योजनालाई पनि बजेटमा विशेष व्यवस्था गरेका छन् । जिल्लाका अधिकांश तहले यसपल्ट सञ्चार क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएका छन् । 


तिलोत्तमाले नेपाल पत्रकार महासंघ रूपन्देही शाखा र लुम्बिनी प्रेस क्लबलाई पनि बजेट विनियोजन गरेको छ ।  यस्तै, सिद्धार्थनगरले प्रेस क्लब र त्यसमा आबद्ध पत्रकारको क्षमता विकासमा बजेट विनियोजन गरेको छ ।रूपन्देहीका स्थानीय तहले वातावरणमैत्री पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेका छन् । बढ्दो सहरीकरणले जिल्लामा प्रदूषण उच्च छ ।


फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नहुँदा यहाँका स्थानीय सरकारले नदी, बस्ती र वन क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएका छन् । यसले मानव जाति, प्राकृतिक सम्पदा र वातावरणलाई असर पुर्‍याएको छ । शुद्धोधनसँगै जिल्लाको मायादेवी, सियारी, रोहिणी, ओमसतिया, मर्चवारी, कोटहीमाई, गैडहवा, कञ्चन, सम्मरीमाई कृषि उत्पादन राम्रो हुने पालिका हुन् । यी तहले कृषिलाई विशेष प्राथमिकता दिएका छन् ।

 

कतिपयले अनुदानका कार्यक्रम पनि ल्याएका छन् । मकै, गहुँ, तरकारीको बिउ, सिँचाइ बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बिमामा दिइएको अनुदानलाई निरन्तरता दिएर कृषिलाई थप प्रभावकारी बनाउन बजेट व्यवस्था गरिएको छ ।

 

कुन तहको बजेट कति

१६ स्थानीय तह रहेको रूपन्देहीका १५ तहले बजेट ल्याएका छन् । ओमसतियाले भने बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेन ।


बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाले २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७१० रुपैयाँको बजेट ल्याएको छ ।


तिलोत्तमा नगरपालिका

सबैभन्दा पहिला नीति तथा कार्यक्रम र बजेट ल्याएका तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ९८ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

 

सिद्धार्थनगर नगरपालिका

जिल्ला सदरमुकाम भैरहवामा रहेको सिद्धार्थनगर पालिकाले १ अर्ब १८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेट नगरसभामा उपप्रमुख उमा काफ्लेले प्रस्तुत गरेकी हुन् ।

 

लुम्बिनी सांस्कृतिक नगरपालिका

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको यो नगरपालिकाले ८० करोड ३९ लाख ६३ हजार ६८४ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

 

सैनामैना नगरपालिका

आगामी आर्थिक वर्षका लागि सैनामैनाले १ अर्ब २२ करोड १९ लाख ४२ हजार ३४१ रुपैयाँको बजेट ल्याएको छ ।

 

देवदह नगरपालिका

देवदहले आगामी आर्थिक वर्षका लागि ९४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

 

सम्मरीमाई गाउँपालिका

गाउँपालिकामध्ये सबैभन्दा पहिला बजेट ल्याएको सम्मरीमाईले ५३ करोड ४१ लाख ११ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

 

गैडहवा गाउँपालिका

आर्थिक वर्ष २०७८/७९ का लागि गैडहवाले ६६ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार गाउँसभामा पालिका अध्यक्ष बछुलाल केवटले नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए ।

 

मायादेवी गाउँपालिका

जिल्लाको मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ८७ लाख ४४ हजार रुपैयाँ बजेट ल्याएको छ ।


रोहिणी गाउँपालिका

नीति तथा कार्यक्रम र बजेट एकै दिन सार्वजनिक गरेको रोहिणीले ५५ करोड ७२ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ ।


कञ्चन गाउँपालिका

बिहीबार सार्वजनिक भएको बजेटअनुसार आगामी आर्थिक वर्षका लागि कञ्चनले ६३ करोड ३८ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

 

मर्चवारी गाउँपालिका

जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने यो गाउँपालिकाले ५३ करोड ३७ लाख ८९ हजार ८३६ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।


कोटहीमाई गाउँपालिका

जिल्लाको दक्षिण क्षेत्रमा पर्ने यो गाउँपालिकाले ४४ करोड ३४ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

 

सियारी गाउँपालिका

मत्स्य र कृषि क्षेत्रमा हव मानिने सियारीले ५९ करोड ४८ लाख ८ हजार ४२१ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।


शुद्धोधन गाउँपालिका

शुद्धोधन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५७ करोड ८२ लाख ९५ हजार २५५ रुपैयाँको बजेट ल्याएको छ ।

 

ओमसतिया गाउँपालिका

बहुमत कार्यपालिका सदस्यले बजेट र नीति तथा कार्यक्रम वहिष्कार गरेपछि ओमसतियाले बजेट ल्याउन सकेन । जनप्रतिनिधिको टकरावले यहाँको बजेट अन्योलमा परेको छ ।