close

ओखलढुंगाका स्थानीय तहले ल्याए ४ अर्बको बजेट 

ओखलढुंगाका स्थानीय तहले ल्याए ४ अर्बको बजेट 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगाका आठै स्थानीय तहले बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । १० असारभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार जिल्लाका स्थानीय तहहरूले निर्धारित समयमै बजेट ल्याएका हुन् ।

 

८ स्थानीय तहमध्ये चिशंखुगढीले बुधबार गाउँसभा सम्पन्न गरेको थियो । अन्यले बिहीबार सम्पन्न गरेका छन् । ८ स्थानीय तहको कुल बजेट ३ अर्ब ९४ करोड ८९ लाख ६ हजार ५० रुपैयाँ रहेको छ ।

 

सबैभन्दा बढी प्रस्तावित बजेट सिद्धिचरण नगरपालिकाको ७७ करोड १९ लाख २२ हजार ५ सय रुपैयाँ रहेको छ । त्यसैगरी सबैभन्दा कम चिशंखुगढी गाउँपालिकाले ल्याएको छ । चिशंखुको कुल ३९ करोड ८८ लाख ३५ हजार १ सय ५० रुपैयाँ मात्र छ । 

 

अधिकांश स्थानीय तहले सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकता दिएका छन् । कोभिड १९ ले पारेको प्रभावलाई केन्द्रित गरी बजेट विनियोजन गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

 

कोभिड–१९ र अन्य विपद् र महामारी भए अन्य शीर्षकमा विनियोजित रकमान्तर गरेर पनि खर्च गर्ने सिद्धिचरण नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

 

चिशंखुगढी गाउँपालिकाले विभिन्न आन्दोलनका क्रममा सहिद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने योजना ल्याएको
छ ।

 

चम्पादेवी गाउँपालिकाले पहिलो प्राथमिकता केन्द्रीय विद्युत् प्रसारण जोड्ने कामलाई दिएको छ । त्यसपछि मात्र स्वास्थ्य शिक्षा, कृषि पर्यटन र सामाजिक विकास रहेको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए ।

 

कुल बजेट अंक धेरै देखिए पनि पुँजीगततर्फ अधिकतम ४० प्रतिशत रकम मात्र विनियोजित छ । केही स्थानीय तहको २० देखि ३० प्रतिशत मात्र बजेट पुँजीगततर्फ विनियोजन गरिएको छ । बाँकी सबै चालू शीर्षकमा छन् ।

 

स्थानीय तहमा निर्वाचित भइसकेपछिको अन्तिम कार्यकाल भएकाले पनि जनप्रतिनिधिले लोकप्रियता कमाउने किसिमका शीर्षकमा बजेट विनियोजन गरेका
छन् । कनिका छरेजस्तै ससाना शीर्षकमा बजेट विनियोजन गर्दा कुनै पनि विकास काम हुन नसकेको सर्वसाधारणको प्रतिक्रिया छ ।

 

‘कनिका छरे जसरी बजेट विनियोजन गरेकै कारण देखाउन लायक विकासका पूर्वाधार बन्न सकेका छैनन्,’ उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले भने, ‘यो प्रवृत्ति अन्त्य नभएसम्म परिवर्तन सम्भव छैन ।’

 

ओखलढुंगा स्थानीय तहहरूको बजेट अंकमा
 

 स्थानीय तहको नाम    अनुमानित आय (बजेट)
 

सिद्धिचरण नगरपालिका    ७७,१९,२२,५००।
 

मानेभन्ज्याङ गाउँपालिका    ४६,७७,०००००
 

खिजिदेम्बा गाउँपालिका   ४३,७५,६२,०००
 

मोलुङ गाउँपालिका   ४२,०६,७७,०००
 

चिशंखुगढी गाउँपालिका    ३९,८८,३५,१५०
 

लिखु गाउँपालिका   ४६,०७,३६०००
 

चम्पादेवी गाउँपालिका   ४७,००,६९,४००
 

सुनकोशी गाउँपालिका   ५२,१४,०४,०००
 

कुल बजेट  :  ३,९४,८९,०६,०५०।