close

तानसेनले ल्यायो १ अर्ब २८ करोडको बजेट(भिडियो खबर)

तानसेनले ल्यायो १ अर्ब २८ करोडको बजेट(भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- असार १० गते संवैधानिक प्रावधान अनुसार सात सय ५३ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही अनुसार हिजो अधिकांश स्थानीय तहले बजेट सार्वजनिक गरे । बजेट सार्वजनिक गरेकामध्ये कतिपयले भने स्वास्थ्य क्षेत्र र रोजगारीलाई बढी प्राथमिकता दिएका छन् ।

 

कार्यकालको अन्तिम बजेट भएकाले पनि धेरैले चुनाव केन्द्रित बजेट भने ल्याउन सकेनन् । अधिकांशले पुराना योजना पूरा गर्ने गरी बजेट विनियोजन गरेका छन् । पाल्पाको तानसेन नगरपालिकाले पनि कोभिड स्थायी अस्पताल देखि स्वास्थ्य चौकिमै प्रयोगशाला बनाउने गरी बजेट सार्वजनिक गरेको छ । 

 

तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १ अर्ब २८ करोड ७० लाख २३ हजार ९ सय ७४ रुपैयाँ  बराबरको बजेट ल्याएको छ । यसमा चालुतर्फ रु ७४ करोड ६४ लाख ७३ हजार ९ सय ५ अर्थात् ५८ प्रतिशत र पुँजीगत तर्फ ५४ करोड ५ लाख ५० हजार ६९ रुपैयाँ अर्थात् २४ प्रतिशत छ ।

 

नगरसभाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमितामा राखेर बजेट ल्याएको हो । नगर सभाका सभाध्यक्ष नगरप्रमुख अशोककुमार शाहीले आगामी वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमा गर्दा ठूला सपना र लामो कल्पना गर्नुभन्दा तत्काल कार्यान्वयन  हुने नीति तथा कार्यक्रम तर्जुमा गरेको दावी गरेका छन् ।

 

कोरोनाको तेस्रो लहरलाई मध्यनजर गरेर तानसेनले आइसोलेसन निर्माण, अक्सिजन व्यवस्थापन, जनशक्ति व्यवस्थापन र सम्पूर्ण नगरवासीलाई कोरोना खोपको प्रबन्ध मिलाउने भएको छ । कोभिड संक्रमित लगायत स्वास्थ्य महामारमा नागरिकको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन समेत गर्ने भएको छ । 


कोरोनाको जोखिम कायम रहँदासम्म श्रमिक, अशक्त, असहाय, आर्थिक रूपले विपन्न, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई राहतको कार्यक्रम प्रभावकारी बनाइने बताइएको छ । नगरपालिकाले सञ्चालन गरेको निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारबाट अति गरीब परिचय प्राप्त लक्षित वर्गसम्म पुर्‍याउने योजना बजेटमा समावेश गरिएको छ । कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणको लागि कृषि उपज संकल केन्द्र वडावडामा विस्तार गर्ने, नगरलाई दुध, अण्डा, मासु र तरकारीमा आत्मनिर्भर बनाई यसको बजार व्यवस्थापन र प्रशोधनमा कृषकलाई सहयोग गर्ने नगरप्रमुख शाहीको भनाइ छ । 
 


आर्थिक क्षेत्र उकास्नका लागि भूमिहीन, सुकुम्वासी, दलित एवं पिछडिएको वर्गलाई सहकारी संस्थामा आवद्ध गरि उद्यमशीलता विकास कार्यत्रलम सञ्चालन गरि कृषि भूमिको संरक्षण र उपयोगको लागि भूमि बैंक स्थापना गरिने भएको छ । नगरवासीको सहजताको लागि आफ्नै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने कार्यक्रम अघि सारिएको छ । यस्तै, पर्यटन प्रवद्र्धनका लागि पार्क, पोखरी निर्माण लगायतमा पनि बजेट विनियोजन गरिएको छ । नगर भित्रका ढुङ्गेधारा, जलकुण्ड, पोखरी लगायत परम्परागत पानीको स्रोत संरक्षण गरिने पनि योजना बनाइएको छ । 
 


यि बाहेक सडक विस्तार, विभिन्न परियोजना निर्माण पनि नगरपालिकाको मुख्य प्राथमिकतामा छ । नगर सरकारले पर्यटनलाई समेत उच्च प्राथमिकता दिई पुरानो अपूरा योजनालाई अपूरा गदै नगरवासीको समस्या प्रति संवेदनशील हुने भएको छ ।