रुपन्देही– लुम्बिनी प्रदेशमा बजेट पास नभएर किचलो बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले संसद अधिवेशन अन्त्य गर्दै अध्यादेशवाट बजेट ल्याएको छ ।
मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको हो । बिहीबार बजेट पास गर्ने कार्यसूची रहेपनि बजेट पास गर्न बहुमत नपुगेपछि सत्तारूढ दल नेकपाले बैठक बहिस्कार गरेको थियो । अधिवेशन अन्त्य गरेसँगै प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।
प्रदेशसभाबाट बजेट अस्वीकृत भएको लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनका नेताहरुले दाबी गरेका छन् । प्रदेशसभा भवनमा बिहीबार साँझ विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै उनीहरुले सत्तापक्ष नै बैठक छाडेर गएका कारण बजेट स्वतः अस्वीकृत भएको दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेशसभामा प्रमुख विपक्ष दल नेपाली काङ्ग्रेसका नेता विरेन्द्र कनोडियाले प्रदेशसभामा बजेट फेल हुने अवस्था देखेपछि सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेको बताए । निर्णायार्थ पेश गर्न पर्ने मुख्यमन्त्री स्वयंको अगुवाईमा बैठक बहिस्कार गरिएका कारण बजेट फेल भएको र सरकार अल्पमतमा रहेको पुनः प्रमाणित भएको बताए ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले मध्यरातमा प्रदेशसभा स्थगित गर्ने वा कुनै षड्यन्त्र भए प्रदेश प्रमुखकै विरुद्धमा आन्दोलन केन्द्रीत गरिने चेतावनी दिए । जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्तापक्षले संसद बहिष्कार गर्नु भनेकै बजेट फेल हुनु भएको बताए ।