close

बागलुङमा बेरुजु:  ढोरपाटनको धेरै, बरेङ र ताराखोलाले घटाए 

बागलुङमा बेरुजु:  ढोरपाटनको धेरै, बरेङ र ताराखोलाले घटाए 

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको दुई स्थानीय तहको बेरुजु फर्छ्याैटमा केही सुधार आएको छ । महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु देखिएका बागलुङका बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा भने बेरुजु प्रतिशतमा करेक्सन (सुधार) गरेका हुन् । 

 

आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदनमा बरेङमा ५।२२ प्रतिशत र ताराखोलामा ५.२० प्रतिशत बेरुजु देखिएकोमा आव २०७६/०७७ मा त्यसलाई सुधार गर्दै बरेङमा ०.४२ प्रतिशत मात्रै बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । यो जिल्लाका १० वटै स्थानीय तहमा देखिएको बेरुजुमध्ये सबैभन्दा कम हो । बरेङमा रु ६६ करोड ३७ लाख ३९ हजार लेखा परीक्षण हुँदा रु २७ लाख ७६ हजार बेरुजु देखिएको छ ।

 

ताराखोला गाउँपालिकाले अघिल्लो प्रतिवेदनमा भन्दा धेरै सुधार गरेको छ । ताराखोलामा १।६१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका १० स्थानीय तहमध्ये ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ढोरपाटन नगरपालिकामा ६।७६ प्रतिशत रकम बेरुजु देखिएको हो । 

 

आव २०७६/०७७ मा ढोरपाटन नगरपालिकामा ६ करोड २५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेरुजु धेरै हुनेमा बागलुङ नगरपालिका दोस्रो बनेको छ । बागलुङ नगरमा १.६४ प्रतिशत बेरुजु देखिएको छ । बागलुङमा २ अर्ब पाँच करोड ६५ लाख ३४ को लेखा परीक्षण रकम रहेकामा ३ करोड ३६ लाख ३७ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । काठखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा समान १।६१ प्रतिशत बेरुजु देखिएको छ । जैमिनीमा नगरपालिकामा १।१४ प्रतिशत बेरुजु छ ।

    
तमानखोला गाउँपालिकामा १.५१ प्रतिशत बेरुजु देखिएको छ । ४९ करोड ९३ लाख ७१ हजार लेखा परीक्षण रकम रहेकामा ७५ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको छ । निसीखोला गाउँपालिकामा ०.९४ प्रतिशत बेरुजु देखिएको छ । ७५ करोड ७४ लाख नौ हजार लेखा परीक्षण रकम रहेकामा ७१ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको छ । गलकोट नगरपालिकामा ०.८७ प्रतिशत बेरुजु देखिएको छ ।
 
१ अर्ब ३३ करोड ७६ लाख ४८ हजार रुपैयाँको लेखा परीक्षण हुँदा १ करोड १६ लाख ६० हजार बेरुजु देखिएको छ । बडिगाड गाउँपालिकामा ०।७२ प्रतिशत बेरुजु देखिएको छ । त्यहाँ एक अर्ब २४ करोड ४९ लाख छ हजार लेखा परीक्षण रकम रहेकामा ८९ लाख ९२ हजार रकम बेरुजु देखिएको हो ।