close

रुकुम पूर्व र पश्चिममा करिब ४७ करोड बढी बेरुजु

रुकुम पूर्व र पश्चिममा करिब ४७ करोड बढी बेरुजु

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ मा साढे १४ करोड रुपैयाँ बेरुजु निस्किएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार पुथाउत्तरगंगामा लेखापरीक्षण गरिएको कुल रकमको १५ दशमलव ६४ प्रतिशत बेरुजु फेला परेको हो । 

 

जिल्लाका ३ गाउँपालिकामा गरी १७ करोड २४ लाख ३८ हजार बेरुजु निस्किँदा पुथाउत्तरगंगामा मात्र १४ करोड ५४ लाख ७८ हजार रुपैयाँ बेरुजु देखिएको हो । पुथाउत्तरगंगामा ९३ करोड ३ लाख २० हजार रुपैयाँ बजेटमा लेखापरीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ । जिल्लामा सबैभन्दा कम बेरुजु भूमे गाउँपालिकामा देखिएको छ । 

 

भूमेमा ९५ करोड २९ लाख ३८ हजारको लेखापरीक्षण गर्दा ७७ लाख ५६ हजार रुपैयाँ बेरुजु देखिएको हो । यो लेखापरीक्षण गरिएको कुल बजेटको ० दशमलव ८१ प्रतिशत हो । सिस्ने गाउँपालिकामा १ करोड ९२ लाख ४ हजार रुपैयाँ बेरुजु निस्किएको छ । कुल ८२ करोड ६२ लाख ७६ हजार रकमको लेखापरीक्षण गर्दा २ दशमलव ३२ प्रतिशत बेरुजु फेला परेको छ । जिल्लाका ३ गाउँपालिकामा कुल १ अर्ब ८७ करोड २२ लाख ४६ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । 
 

रुकुम पश्चिममा ३० करोड २३ लाख बेरुजु


रुकुम पश्चिमका ६ स्थानीय तहमा झन्डै साढे ३० करोड रुपैयाँ बेरुजु निस्किएको छ । जिल्लाका स्थानीय तहमा बेरुजु ३० करोड २३ लाख ५५ हजार रुपैयाँ देखिएको हो ।३ नगरपालिका र ३ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी त्रिवेणी गाउँपालिकामा र सबैभन्दा कम बेरुजु सानीभेरी गाउँपालिकामा रहेको छ ।


९१ करोड ६८ लाख ६ हजार रुपैयाँको लेखापरीक्षण गरिएकामा त्रिवेणीमा ९ करोड ३ लाख ३ हजार बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ९ दशमलव ८३ प्रतिशत हो ।महालेखाको वार्षिक प्रतिवेदनअनुसार जिल्लामा सबैभन्दा कम सानीभेरी गाउँपालिकाको बेरुजु ० दशमलव ९९ प्रतिशत मात्र छ । गाउँपालिकाको ९१ करोड ५९ लाख ३३ हजार बजेटको लेखापरीक्षण गरिएकामा ९० लाख ७० हजार बेरुजु देखिएको छ । 


बाफीकोट गाउँपालिकामा १ दशमलव ७९ प्रतिशत बेरुजु देखिएको छ । ६९ करोड ४१ लाख २७ हजारको लेखापरीक्षण गर्दा १ करोड २४ लाख ९ हजार रुपैयाँ बेरुजु फेला परेको छ । १ अर्ब ३० करोड १५ लाख ५३ हजारको लेखापरीक्षण गर्दा मुसीकोट नगरपालिकामा ५ करोड ३८ लाख ४५ हजार बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ४ दशमलभ १४ प्रतिशत हो । 


चौरजहारी नगरपालिकाको बेरुजु ५ करोड ६६ लाख ६४ हजार रुपैयाँ छ । यो लेखापरीक्षण गरिएको बजेटको ४ दशमलभ ९८ प्रतिशत हो । चौरजहारीमा १ अर्ब १५ करोड ९२ लाख ६६ हजारको लेखापरीक्षण भएको थियो । आठबीसकोट नगरपालिकामा ८ करोड ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ । आठबीसकोटमा कुल १ अर्ब ६३ करोड १६ लाख ९२ हजार बजेटको लेखापरीक्षण गरिएको हो । बेरुजु प्रतिशत ४ दशमलव ९१ प्रतिशत छ ।