close

विमान कम्पनीले ढुवानी भाडा बढाएपछि  हुम्लीको थाप्लोमा महँगीको थैलो 

विमान कम्पनीले ढुवानी भाडा बढाएपछि  हुम्लीको थाप्लोमा महँगीको थैलो 

Trulli
ADVERTISEMENT

सिमकोट– निजी विमान कम्पनीले ढुवानी भाडा २५ प्रतिशत बढाएपछि हुम्लावासी महँगीको मारमा परेका छन् । यातायात तथा खाद्यान्न र उपभोग्य सामग्री ढुवानी गर्न एकमात्र विकल्प हवाई मार्ग मात्र भएको हुम्लामा हवाई ढुवानी भाडा वृद्धिले हुम्लावासी महँगीको मारमा परेका हुन् । 


विमान कम्पनीले हवाई इन्धनको मूल्य बढेकाले ढुवानी भाडा वृद्धि गरेको बताएका छन् । नेपालगन्ज र सुर्खेतबाट तारा एयर, सिता एयर र समिट एयरले खाद्यान्नलगायत उपभोग्य र निर्माण सामग्री हुम्ला ढुवानी गर्दै आएका छन् । सबैले एकै पटक २५ प्रतिशत ढुवानी भाडा बढाएका छन् ।
हुम्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन ।


विमान कम्पनीले केही दिनअघि बाँकेको नेपालगन्ज विमानस्थलबाट सिमकोटसम्म प्रति किलोग्राम एक सय रुपैयाँ का दरले ढुवानी गरिरहेका थिए । अहिले प्रति किलोग्राम १ सय २५ रुपैयाँ  लिन थालेका छन् ।


सरकारले हवाई इन्धनको मूल्य बढाएको र त्यसबापत कुनै सहुलियत नदिएकाले हुम्लालगायत पहाडी भूभागमा ढुवानी भाडा बढाउनु परेको समिट एयरका नेपालगन्जका बजार व्यवस्थापक उमेश बिसीले जानकारी दिए ।‘यसअघि प्रतिकेजी सामानको एक सय रुपैयाँ मात्र लिने गरेका थियौं,’ उनले भने, ‘अहिले प्रति किलोग्राम २५ रुपैयाँ  बढाउन बाध्य भएर नयाँ दर कायम गरिएको हो ।’


पछिल्ल्लो समय हुम्लामा दैनिक उपभोग्य र निर्माण सामग्रीको ढुवानी परिमाण बढेकाले पनि ढुवानी भाडा केही वृद्धि गर्नु परेको समिट एयरका बजार व्यवस्थापक बञ्जनी श्रेष्ठले बताइन् । ‘सरकारले योभन्दा पहिले हवाई इन्धनको मूल्य वृद्धि गर्दा हामीले भाडा समायोजन गरेका थिएनौं,’ उनले भनिन्, ‘अहिले यात्रु र कार्गो दुवैको भाडा हामीले केही समायोजन गरेका हौं ।’


विमान कम्पनीले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि हुम्ला ओसार्ने सामानमा भाडा बढाएका छन् । यसअघि सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी ढुवानी ८५ रुपैयाँ  मात्र रहेकोमा अहिले १ सय १० रुपैयाँ  पुगेको छ ।


व्यवसायीको पनि विरोध
कोरोना संक्रमणका बेला निजी विमान कम्पनीले अचानक कार्गो भाडा बढाएकोमा हुम्लाका व्यवसायीले समेत विरोध गरेका छन् । कोरोना महामारीले सर्वसाधारण र व्यापार व्यवसाय सबै थिलथिलो भएका बेला राहत दिनुपर्नेमा ढाड सेक्ने गरी एकै पटक २५ प्रतिशत भाडा वृद्धि गर्नु गलत हो भन्छन् सिमकोटका एक व्यापारी रामजन रावत । 


‘कोरोनाको डरले बन्द रहेका उडान सुरु हुनासाथ विमान कम्पनीले ढुवानी भाडा बढाउनु उचित होइन,’ उनले भने, ‘यातायातको अन्य विकल्प नभएको हुम्लावासीको बाध्यता बुझेर विमान कम्पनीले बारम्बार संकटको मौका छोप्दै मनपरी भाडा बढाउने गरेका छन् ।’


चर्को हवाई ढुवानीकै कारण अब हुम्लामा सामानको मूल्य अकासिने भएको छ । नेपालगन्ज र सुर्खेतबाट विमानमार्फत सामान ढुवानी गर्दै आएका रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले चाडबाडका समयमा भाडा बढाउने विमान कम्पनीको निर्णयले हुम्लावासीलाई ठूलो मर्का पर्ने चिन्ता व्यक्त गरे ।


यात्रु भाडासमेत बढ्यो
हवार्ई ढुवानी भाडा २५ प्रतिशत वृद्धि गरेका विमान कम्पनीले नेपालगन्ज–हुम्लाको यात्रु भाडा समेत बढाएका छन् । यसअघि नेपालगन्ज–हुम्लाको यात्रु भाडा साढे १० हजार रुपैयाँ  थियो । अहिले विमान कम्पनीले ३ सय रुपैयाँ  बढाएर १० हजार ८ सय ७५ रुपैयाँ  पुर्याएका छन् । 


सरकारको अनुमति नलिइ विमान कम्पनीले आफूखुसी भाडा लिएकोे प्रतिक्रिया स्थानीयले दिए । नियमितजस्तै गरी केही समयको अन्तरालमा हवाई भाडा बढाउनु अस्वाभाविक भएको स्थानीय शंका गर्छन् । विमान कम्पनीले जथाभावी भाडा वृद्धि गर्दा हुम्ला जाने यात्रुले समस्या झेल्नु परेको छ ।

पहुँचवालाले मात्र पाउँछन् उड्न
 

जनै पूर्णिया नजिकिन थालेपछि घर फर्कन नेपालगन्ज विमानस्थलमा हुम्लावासीको ठूलै घुँइचो लाग्छ । ठूलो चाडपर्वका रूपमा मनाउने जनै पूर्णियाका लागि घर फर्कने हुम्लीहरूकोे संख्या बढ्दै गएको छ । 


हुम्ला उडानका लागि नेपालगन्ज एयरपोर्टमा दिनहुँ बिहानै पुगे पनि पहुँचवाला र पावरवाला मात्र सिमकोट उड्न पाउँछन् । बाँकी सामान्य नागरिकले सिमकोट उड्न नपाउने गुनासो यात्रुहरूको छ ।


नेता, मन्त्री र ठूलाबडाहरू एकै दिनमा उडानबाट हुम्ला पुगे पनि अन्य सामान्य हुम्लीले भने घर फर्कन सास्ती खेप्नु परेको छ । दैनिक उडान भर्ने आसमा नेपालगन्ज विमानस्थल धाएको करिब दुई सातापछि मात्र उड्न पाएको गुनासो स्थानीय फागुने विकले गरे ।


उनका अनुसार कहिले कार्गाे ओसार्ने, कहिले मौसम खराब छ भन्ने र कहिले यात्रु धेरै भए भन्दै विमान कम्पनीले दुई सातासम्म राँझा एयरपोर्टमै बस्न बाध्य पारेका थिए । भाडाभन्दा होटल बसाइको खर्च धेरै भएर सबै रकम त्यसैमा सक्किएपछि अब बिहान बेलुकी छाक टार्नसमेत समस्या भएको विकको भनाइ छ ।


त्यस्तै नेपालगन्ज विमानस्थलमा करिब ४ दिन अड्किएका अर्का स्थानीय कुविर परियारले जानकारी दिए । उनले भने, ‘पहुँच र पावरवालाले मात्रै टिकट पाउँछन्, हामी जस्ता सर्वसाधारणले पैसा भएर मात्र के गर्ने पाउँदैनौं ।’


टिकट नपाउनेबाहेक विमान कम्पनीका लोडरहरूले हुम्लाका स्थानीय यात्रुसँग असभ्य व्यवहार गर्ने गरेका छन् । यो समस्या समाधान गर्न नेपालगन्ज र सुर्खेतस्थित विमान कम्पनीका प्रमुखले ध्यान दिनुपर्ने माग परियारले गरे ।