close

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

Trulli
ADVERTISEMENT

बुटवल-  रुपन्देही  बुटवल उपमहानगरपालिकाले अगामी आर्थिक वर्षका लागि २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।  आइतबार उपप्रमुख सावित्रीदेवी अर्यालले नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको बजेट तथा कार्यक्रम पेस गरेकी हुन् ।

चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकाले २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर अहिले  २ अर्ब  ९९ करोडको बजेट ल्याएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ८५ करोड राजस्व सङ्कलन गर्ने अनुमान गरेको छ । 

बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई बजेट छुट्टाइएको बताइन् । 

आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याइएको छ । वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी पर्याप्त बजेट विनियोजन गरिएको उनले बताइन् । 

यस्तै निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत बुटवल ११ मा १ सय बेडको अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्टाएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ, नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन  १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्यालले बताइन् । 

बजेटमा बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने, ज्येष्ठ नागरिक लक्षित बा आमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिइएको छ । 

शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसङ्ख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यका साथ नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम समेत ल्याइएको छ । शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधार विकासका लागि पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ५ करोड छुट्ट्याइएको छ । 

त्यस्तै ‘छोरी पढाऔँ, समाज बनाऔँ’  कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरूलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले २५ लाख रुपैयाँ छुट्टाइएको छ । 

विद्यार्थीसँग नगर प्रमुख, बालबालिकासँग उपप्रमुख र एक विद्यार्थी एक बैङ्क खाता कार्यक्रम र विद्यालय खाजा कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई खाजा खुवाउने र विद्यालयहरूमा  १० रुपैयाँ थप गरी  २५ रुपैयाँ गराउनेजस्ता नयाँ कार्यक्रम बजेटमा समावेश गरिएको छ । 

यसवर्ष लुम्बिनी बस टर्मिनलमा विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क बाइफाई, सुरक्षित विश्राम स्थल निर्माण गर्न १ करोड र  उज्यालो बुटवल कार्यक्रमअन्तर्गत बुटवल चिडिया खोलादेखि योगी कुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि ४ करोड रुपैयाँ बजेटमा राखिएको छ । 

बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष घोषणा गरी पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ । बुटवलदेखि नुवाकोट जाने पैदल मार्ग निर्माणका लागि १ करोड, पैदल मार्गमा शिव मूर्ति निर्माणका लागि १ करोड रुपैयाँ र हिल पार्कमा बुद्ध मूर्ति निर्माणका लागि १ करोड रुपैयाँ बजेटमा समावेश छन् । 

बुटवललाई रोजगार र स्वरोजगारमा समेत स्थापित गर्न गृहिणी महिलाहरूलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि ३ करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न १ करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख बजेटको व्यवस्था गरिएको उपप्रमुख अर्यालले बताइन् ।

बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका बासिन्दालाई लाभ हुने गरी तिनाउ गाउँपालिकामार्फत विकासका कार्य गर्न २ करोड छुट्टाइएको छ । 

मुख्य चोक र चौराहामा विश्राम चौतारी, फल्चा, परम्परागत प्रतीक्षालय निर्माणका लागि २ करोड रुपैयाँ छुट्ट्याइएको छ । छाडा चौपाया व्यवस्थापनका लागि अस्थायी संरचना, विश्राम स्थल, ध्यान केन्द्र, योग केन्द्र निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ । यस्तै, वडाहरूको समग्र विकासका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्ट्याइएको छ । 

बुटवल वडा नम्बर १४ देखि १९ का ६ वटा वडालाई विशेष विकास कार्यक्रममार्फत विकासका लागि खर्च गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ । खेलाडी उत्पादनका लागि खेलाडीहरूलाई छात्रवृत्ति, प्रशिक्षण खर्च तथा पारिश्रमिक दिने र नगरको टिम निर्माण गर्ने कार्यक्रम बजेटमा समेटिएको छ । 

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व रहेको तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालनका लागि ३५ लाख रुपैयाँ छुट्ट्याइएको छ ।  यस्तै, बजेटमा महिला, बालबालिका, सीमान्तकृत समुदाय र अल्पसङ्ख्यक समुदायलाई मुलप्रवाहमा ल्याउनका लागि क्षेत्रगत, विधागत र समुदायगत कार्यक्रमहरू समावेश गरिएका छन् ।