close

कोरोना प्रभावित व्यवसायीलाई दाताको अनुदान

कोरोना प्रभावित व्यवसायीलाई दाताको अनुदान

Trulli
ADVERTISEMENT

जुम्ला– कोरोना संक्रमणका कारण दुई वर्षदेखि थलिएका साना व्यापार व्यवसायलाई दाताले अनुदान प्रदान उपलब्ध गराएको छ । कोरोना प्रभावित व्यवसाय पुनस्र्थापना गर्न अनुदान दिइएको हो । 


पातारासी गाउँपालिका वडा नम्बर ५ ल्होर्पगाउँमा खुद्रा व्यापार गर्दै आएका रमेश बुढालाई किर्डाक नेपालले व्यवसाय पुनस्र्थापनाका लागि सहयोग गरेपछि उनको व्यापार पुनः जुर्मुराएको छ ।  पातारासी वडा नम्बर ७ की चन्द्रमाया थापाले पनि जुम्ला–रारा सडकको उर्थुमा खुद्रा व्यापार गर्दै आएकी छन् ।


‘रारा जाने छोटो मार्ग भएकाले उर्थु–पटमारा सडकबाट दैनिक सयौँ पर्यटक तथा स्थानीयको आउजाउ हुने भएकाले व्यापार राम्रै थियो । तर, कोरोनाले व्यापारमा गिरावट आएपछि किर्डाक नेपालले व्यवसाय पुनस्र्थापनाका लागि सहयोग गरेपछि व्यापार पुनः सुरु गरेकी छु’, उनले भनिन् ।


स्थानीय चन्द्रमाया थापाले सहयोग पाएपछि कोरोना कहरमा पनि व्यापार निरन्तर सञ्चालन भएको बताइन् । किर्डाकबाट प्राप्त सहयोगले दोब्बर कमाइ गरेर सामग्री थपेको उनले सुनाइन् ।

 

वल्र्ड भिजनको सहकार्यमा किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित एकीकृत पोषण तथा उत्थानशील परियोजनामार्फत कोरोनाबाट प्रभावित जुम्लाका ३५५ जना व्यवसायीलाई पुनस्र्थापना गरिएको हो ।

 

परियोजना सञ्चालन भएको पातारासी, तातोपानी र तिला गाउँपालिकाका ३५५ कोभिड प्रभावित व्यवसायीलाई पुनस्र्थापना गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम प्रबन्धक भेषबहादुर रावलले बताए ।


कोभिड प्रभावित व्यवसायीलाई वडाको सिफारिसमा सहयोग गरिएको हो । सामग्री सहयोगसहित व्यापार सञ्चालन र लेखाजोखासम्बन्धी तालिमसमेत प्रदान गरिएको फिल्ड कार्यक्रम प्रबन्धक रावलको भनाइ छ ।


कोभिड प्रभावित पुनस्र्थापित भएका व्यवसायको अनुगमन गर्दै जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाले व्यवसाय प्रवद्र्धन, स्थानीयको आयआर्जन वृद्धि तथा पोषण स्थितिमा सुधार, उत्पादन वृद्धिका काममा लगानी गरिनु सराहनीय भएको जानकारी दिए ।

 

करोड लगानी


जुम्लाका कोभिड प्रभावित व्यवसायीको पुनस्र्थापनाका लागि किर्डाक नेपालले करिब १ करोड रुपैयाँ बढी बजेट लगानी गरेको छ । एकीकृत पोषण तथा उत्थानशील परियोजनामार्फत व्यवसाय पुनस्र्थापनका लागि पातारासी, तिला र तातोपानीमा गरी १ करोड ४० लाख १४ हजार ८ सय रुपैयाँ लगानी गरिएको फिल्ड कार्यक्रम प्रबन्धक रावलले बताए । 

 

उनका अनुसार व्यवसायको प्रकृतिअनुसार १६ हजारदेखि ५० हजार रुपैयाँसम्मको सामग्री सहयोग गरिएको छ । पोषण स्थिति सुधार आयआर्जन वृद्धिका लागि जुम्लाका ४४२ किसानलाई ७० लाख ७५ हजार रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरिएको रावलको भनाइ छ ।

 

जुम्लाका १ हजार ६७ जनालाई ३१ लाख ६० हजार ८० सय रुपैयाँ बराबरको राहत उपलब्ध गराइएको छ । तथ्यांकअनुसार कोभिड प्रभावित १ सय ९७ खुद्रा साना व्यापारी, १६ वटा होटल व्यवसाय, एउटा ग्रिल उद्योग, ६ वटा फलफूल प्रशोधन, ११ वटा फर्निचर उद्योग, ४ वटा फ्रेस हाउसलाई पुनस्र्थापना गर्न लगानी गरिएको हो ।

 

त्यस्तै, ५६ बाख्रापालक व्यवसायीलाई ५० हजार रुपैयाँका दरले सहयोग गरी व्यवसाय पुनस्र्थापना गरिएको छ । ५ वटा आरन व्यवसाय, ४ वटा भैँसीपालन व्यवसाय, २१ जनाको सिलाइ–कटाइ व्यवसाय, स्याउ नर्सरी, इलेक्ट्रोनिक, मोबाइल मर्मतलगायत १९ प्रकारका व्यवसायको पुनस्र्थापनाका लागि लगानी गरिएको छ ।