close

१ अर्ब २५ करोड बढी राजस्व असुल्न भन्सारलाई महालेखाको निर्देशन

१ अर्ब २५ करोड बढी राजस्व असुल्न भन्सारलाई महालेखाको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं– पैठारी भएका मालसामानको जाँचपास गर्दा भन्सार कार्यालयहरूले झन्डै १ अर्ब २५ करोड कम राजस्व असुली गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले उक्त रकम असुली गर्न निर्देशन दिएको छ । 

 

भन्सार कार्यालयले विभिन्न पैठारीकर्ताले विभिन्न मिति र प्रज्ञापनपत्रबाट पैठारी भएको मालसामानको जाँचपास गर्दा आर्थिक ऐन, २०७५ को अनुसूची १ र भन्सार दरबन्दी पुस्तिकामा उल्लिखित संकेत नम्बरअनुसार मालवस्तुको यथार्थ संकेत यकिन गरी जाँचपास गर्नुपर्नेमा सो नगरेको मलेपको ठहर छ ।

 

प्रज्ञापनपत्रको परीक्षण गर्दा फरक संकेत नम्बर तथा दरबन्दी लगाएका कारण ७१ करोड २५ लाख ९६ हजार रुपैयाँ कम राजस्व असुली भएको मलेपले बताएको छ । मलेपले मालवस्तुको यथार्थ संकेत यकिन गरी सो बराबरको रकम असुली गर्न भन्सार कार्यालयलाई निर्देशन दिएको छ ।

 

मलेपले व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुन तथा चाँदीमा लाग्ने महसुल लागू हुने मिति ४ दिन पछि पारेर भन्सार कार्यालयले २ करोड ३८ लाख ३० हजार रुपैयाँ कम संकलन गरेको दाबीसहित मलेपले सो बराबरको रकम असुल्न निर्देशन दिएको छ ।

 

मलेपको ५८औँ प्रतिवेदनअनुसार १८ कात्तिक २०७६ को मन्त्रिपरिषद्को निर्णयबमोजिम व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुनमा प्रति १० ग्राममा लाग्ने महसुल ५ हजारबाट बढाई ६ हजार ५ सय रुपैयाँ कायम गरिएको र चाँदीमा प्रति १० ग्राममा लाग्ने महसुल ५६ बाट बढाएर ७५ रुपैयाँ कायम भएको भएको छ ।
महसुल वृद्धिसम्वन्धी उक्त निर्णय १९ कात्तिक २०७६ बाट लागू हुनुपर्नेमा २३ कात्तिकबाट मात्र लागू गरेको मलेपले औँल्याएको छ । 

 

सो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ८२ करोड ४२ लाख ३१ हजार रुपैयाँ मूल्यको १ सय ५० किलोग्राम सुन तथा ४ करोड ६६ लाख ८० हजार मूल्य बराबरको ७ सय किलोग्राम चाँदी पैठारी भएको मलेपले भनेको छ ।

 

राजस्व वृद्धि भएको निर्णय समयमै कार्यान्वयन नगर्दा सुन आयातमा २ करोड २५ लाख तथा चाँदी आयातमा १३ लाख ३० हजार रुपैयाँसमेत गरी २ करोड ३८ लाख ३० हजार राजस्व छुट भएकाले सो रकम असुल गर्नुपर्ने मलेपको ठहर छ ।


पैठारीकर्ताले १९ इन्च वा सोभन्दा कम आकारका ७३ हजार २६ थान मनिटर भन्सार कारोबार मूल्य ४८ करोड ९२ लाख २३ हजार रुपैयाँको १३ प्रतिशत मूल्य अभिवृद्धि कर मात्र असुल गरी जाँचपास गरेको मलेप प्रतिवेदनले औँल्याएको छ । 

 

सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ४ हजार थान सिसीक्यामेरासमेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगञ्ज, तातोपानीलगाययत भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७७/७८ को अवधिमा १३ करोड २१ लाख १० हजार रुपैयाँका ६७ हजार ९ सय ४ थान सिसीक्यामेरा पैठारी भए पनि ती मनिटर प्रयोग हुन नसक्ने मलेपको ठहर छ । 

 

भन्सारको तथ्यांक परीक्षण गर्दा कुनै पनि मनिटर सो प्रयोजनका लागि पैठारी भएको देखिँदैन । यसबाट कम्प्युटर प्रयोजन भनी पैठारी भएमध्ये न्यूनतम ६७ हजार ९ सय ४ थान मनिटर सिसीटिभीमा प्रयोग हुने अवस्था छ । 

 

कम्प्युटरबाहेकको प्रयोजनमा प्रयोग हुने मनिटरलाई भन्सार दरबन्दी ८५२८५९ बाट जाँचपास गरी भन्सार महसुल र मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा फरक दरबन्दीबाट जाँचपास गरेका कारण १६ करोड १६ लाख ६१ हजार रुपैयाँ कम राजस्व असुल भएको भन्दै योसमेत थप असुलीका लागि मलेपले ताकेता गरेको छ ।

 

यस्तै, टेलिकम सेवाप्रदायक कम्पनीले ध्वनिसम्बन्धी यन्त्रमा प्रयोग हुने लाइसेन्स तथा एन्टीभाइरसजन्य प्रोग्राम, अप्टिकल एन्ड प्याकेट अप्टिकल ट्रान्समिसन नेटवर्कजस्ता कार्य पैठारी गर्दा गलत जाँचपास प्रयोग गरी न्यून भन्सार लगाएर कम राजस्व असुल भएकाले पैठारीकर्ताबाट ६ करोड ७८ लाख ५ हजार रुपैयाँ असुल गर्न मलेपले निर्देशन दिएको छ ।