close

भैरहवा आसपास बजार अनुगमन : गुणस्तरहीन खाद्यवस्तु बेच्नेलाई ठाउँको ठाउँ कारबाही 

भैरहवा आसपास बजार अनुगमन : गुणस्तरहीन खाद्यवस्तु बेच्नेलाई ठाउँको ठाउँ कारबाही 

Trulli
ADVERTISEMENT

रूपन्देही–चाडपर्व नजिकिएसँगै भैरहवा आसपास क्षेत्रमा बजार अनुगमन तीव्र पारिएको छ । चाडपर्वको समय बजारमा कालोबजारी र कृत्रिम महँगी सिर्जना गरी उपभोक्ता ठग्न थालिएको उपभोक्ताको गुनासोपछि बजार अनुगमन थालिएको हो ।  बजार अनुगमन टोलीले नगरका विभिन्न व्यावसायिक प्रतिष्ठान तथा खाद्य सामग्री बिक्री केन्द्र, पसल अनुगमन गरेको छ ।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख टेकराज भट्टराईको संयोजकत्वको टोलीले खाद्य, किराना, फलफूल, मदिरा पसललगायतको अनुगमन गरेको हो । 


टोलीले चाडपर्वको समय बजारमा कालोबजारी हुन नदिन निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा व्यवसाय दर्ता भए÷नभएको, पसलबाट बिक्री गरिएका खाद्य वस्तुको गुणस्तर कायम भए/नभएको, उपभोग्य मिति भए/नभएको र त्यसको खरिददेखि बिक्री मूल्यसमेत हेरेर कैफियत देखिए तत्कालै आवश्यकताअनुसार कारबाही गरिएको भट्टराईले बताए । 


अनुगमनका क्रममा १ वर्ष म्याद सकिएका पेय पदार्थ, खाद्य वस्तु भेटिएको, व्यवसाय नवीकरण नभएको तथा बिलबिजक दुरुस्त नभएको भन्दै ओमसतिया गाउँपालिका वडा नम्बर १ ठुटीपीपलस्थित चौधरी फलफूल तथा नास्ता पसललाई १० हजार रुपैयाँ जरिमाना गरिएको उनले जानकारी दिए । त्यस्तै, अनुगमनका क्रममा ठूलो कसुर गरेको भेटिए उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने अनुगमन संयोजक भट्टराईको भनाइ छ ।

 

अनुगमन टोलीमा कार्यालयका नासु नारायण पन्थी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविलाल भट्टराई, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय निरीक्षक करुणा गुरुङ, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख लक्ष्मण लम्साल, ओमसतियाका प्रशासकीय अधिकृत दुर्गा पौडेल, इलाका प्रहरी कार्यालयका धनबहादुर थापालगायत सहभागी थिए । 


बजारमा कालोबजारी हुन नदिने र उपभोक्तालाई गुणस्तरीय उपभोग्य सामग्री उपभोग गर्न पाउने अधिकार निश्चित गर्न जिल्ला प्रशासन निरन्तर सक्रिय भएको प्रशासकीय अधिकृत भट्टराई बताए । ‘चाडपर्वको समय कालोबजारी तथा बजारमा अखाद्य सामग्री बिक्री गरी उपभोक्ता ठग्नेमाथि कारबाही गर्छौं,’ उनले भने । 
आइतबार गरिएको अनुगमनकाक्रममा ठुटीपीपलस्थित चौधरी फलफूल तथा नास्ता पसल र शुभ शर्मा किराना पसलबाट म्याद गुज्रिएका पेय पदार्थ र खाद्यवस्तु बरामद गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक गुरुङले बताइन् ।