close

चुँदार समुदायको पुख्र्यौली ठेकी उधिन्ने पेसा संकटमा

चुँदार समुदायको पुख्र्यौली ठेकी उधिन्ने पेसा संकटमा

Trulli
ADVERTISEMENT

बागलुङ–कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरका पूर्णबहादुर चुँदार यतिबेला गिठेदारको ठेकी बनाउँदै गरेका हुन्थे । बाउबाजेले सिकाएको पुख्र्याैली ठेका बनाउने कलामा पूर्णबहादुर अब्बल छन् । उनीजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकाको व्यवसाय गर्थे । तर, दुई वर्ष भयो । न उनीहरूले नयाँ ठेका बनाउन पाएका छन्, न त व्यापारका लागि घुम्नडुल्न नै । बागलुङको बलेवामा रहेका चुँदार समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन् । 

 

जंगलमा पाइने गिठेदारबाट बनाइने ठेकी गाउँघरमा दूध, दही राख्न प्रयोग हुने गरेका छन् । कोरोनाका कारण उनीहरूको काम र व्यापार ठप्प छ । पछिल्लो समय बजार ओगटेका प्लास्टिक र स्टिलका सामानले काठको ठेकीको माग घट्दै गएका बेला कोरोना महामारीले हुने गरेको व्यापारमा समेत अवरोध गरेको पूर्णबहादुर बताउँछन् ।


‘दुई वर्ष भयो घर छोड्न पाइएको छैन । काठ खोज्न जानु न ठेका कुँद्नु,’ पूर्णबहादुरले भने, ‘अब खुल्यो भने पनि प्लास्टिकका भाँडाले काठका भाँडा नखोज्ने बनाउँछ होला ।’ ठेकीका लागि आवश्यक पर्ने गिठेदार बागलुङमा पाइँदैन । गुल्मी र पाल्पा पुगेर कालिगढले कहिले काठ ल्याउने त कहिले ठेकी नै उतै कुँदेर ल्याउने गरेका थिए । बन्दाबन्दीले उनीहरूको दैनिकीमा असर गरेको छ । 


बागलुङमा उत्पादन हुने ठेका गण्डकी प्रदेशका बिभिन्न जिल्लामा बिक्री हुने गरेका छन् । गिठेदारको ठेकीलाई व्यवसायीले मानाको ७ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।  स्थानीय काठबाट ठेकी बनाउन कठिन हुने र उपभोक्ताको माग पनि गिठेदार नै हुने भएकाले हात पट्याएर बस्नुपरेको चुँदारा बताउँछन् । चाडपर्वका बेला गाउँ–गाउँमा ठेका बोकेर डुल्ने उनीहरू दुई वर्षदेखि घरमै छन् ।


‘दसैँ र चैतेददसैँमा बागलुङ कालिका आसपासमा राखेर ठेका बेचिन्थ्यो, काठका भाँडा खुब खोज्थे,’ पूर्णबहादुर भन्छन्, ‘फेसनका जिनिसले कम बिक्न थालेका थिए, त्यहीँमाथि कोरोनाले थला पार्‍यो  ।’ मिहिनेत धेरै लाग्ने र सीपको आवश्यकता हुने भएकाले युवा पुस्ताको आकर्षण यो व्यवसायमा कम छ । 

 

काठका भाँडामा राखेको दुग्धजन्य पर्दा मीठो र नसड्ने भएकाले पुरानो पुस्ताले खोजी गरे पनि नयाँ पुस्तामा प्लास्टिकको मोह बढी रहेकाले व्यवसाय नै संकटमा पर्न थालेको चुँदारा समुदाय बताउँछन् ।