close

देश–विदेश चिनाउँदै पाल्पाली ढाका

देश–विदेश चिनाउँदै पाल्पाली ढाका

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पामा उत्पादित ढाका कपडाले मुलुकभित्र मात्र नभई विदेशमा समेत ख्याति पाउन थालेको छ । पाल्पा घुम्न आउनेहरूले ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा लैजाने गरेका छन् । तानबाट उत्पादित पाल्पाली असली ढाका कपडा देश–विदेशमा समेत बेचिन थालेको छ । यद्यपि, पछिल्लो समय ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेकामा स्थानीय चिन्तित छन् । 


गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली पहिचानलाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ । पाल्पाली ढाका संघले गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको हो । युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ परियोजनामार्फत ब्रान्डिङ गरिएका ढाका कपडा बजारमा ल्याउने तयारी छ ।

 

भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाकाको व्यापार धराशयी बन्ने अवस्था छ । सोही कारण ब्रान्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा भएको चिनाउने अभियानमा जुटेको संघका व्यवस्थापक अनुशेष रायमाझीले बताए ।  उनका अनुसार तीन वर्षे ब्रान्डिङ योजना बनाउन परियोजनाले इमेज आर्ट संस्था काठमाडौंसँग सम्झौता गरी काम अगाडि बढाएको छ । योजना तयार भएपछि बजारमा छिट्टै पठाइने उनको भनाइ छ । 

 

रायमाझीले भने, ‘ब्रान्डिङ सामान तानसेन र काठमाडौंमा आउँदो पुस माघ पहिलो महिनामा एकैसाथ सुरु गर्ने तयारी छ । काठमाडौंमा चार र पोखरामा एक सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने कुरा भइसकेको छ । ब्रान्ड बनाएर बजार पठाएपछि यहाँको ढाका कपडाको व्यापार अझ फस्टाएर जानेछ ।’

 

ब्रान्ड बनाएर ढाका कपडा बाहिर पठाउन परियोजनाले निश्चित मापदण्ड तोकेको छ । कारखानाको स्थिति, कारखानामा सुरक्षा उपकरण भए/नभएको, प्रकाशको व्यवस्था, मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला पाए/नपाएको, कामदारमाथि दुव्र्यवहार भए/नभएकोलगायत विभिन्न मापदण्ड तयार पारेको छ । 

पहिलो चरणमा तानसेन र काठमाडौंमा एकैसाथ कार्यक्रम सुुरु गर्ने तय भएको छ भने विस्तारै ब्रान्ड बनेको ढाका नेपालका सबै जिल्ला र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने परियोजनाको योजना छ । स्वीजरल्यान्डको लेबल स्टेप संस्थासँग साझेदारी गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी भइरहेको छ । हाल यहाँ उत्पादित ढाका कपडा युरोपका विभिन्न देशमा निर्यात हुँदै आएको छ । ब्रान्ड बनेपछि पाल्पाली ढाकाको नाम बदनाम हुने क्रम रोकिनेछ ।

 

बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्रान्डिङमा लैजाने भएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योगीको व्यापार फस्टाउने अवस्थामा छ । उद्योगलाई स्थापित गराउन, सरकारले तोकेको न्यूनतम ज्याला कामदारलाई उपलब्ध गराउन पनि यसले सहयोग पुग्नेछ । 

 

पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा पठाउँदा यसको छुट्टै पहिचान बन्ने र उपभोक्ताले पनि राम्रो सामान उपभोग गर्न पाउने बताउँछिन्, संघका अध्यक्ष पूर्णमाया महर्जन । ‘तानबाट हातले बुनेका ढाका कपडाको छुट्टै महत्त्व छ । ग्राहकले तानबाट उत्पादित सामग्री धेरै रोज्छन्, तर यहाँ हिजोआज बाहिरबाट आएका ढाकाले बजार बिगारेकाले अब सबै ग्राहकले पहिचान गर्ने खाले ब्रान्ड बनाएर बजार पठाउँछौँ’, अध्यक्ष महर्जनले भनिन् ।

 

महर्जनका श्रीमान् स्व. गणेशमानले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालेका थिए । अहिले यसले देश–विदेशमा पहिचान बनाउन सफल भएको छ । उबेलै गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको स्रोत बनेको थियो ।


स्व. गणेशमानले सुरु गरेको व्यवसाय अहिले पनि निरन्तर छ । उनकी श्रीमती पूर्णमाया हालसम्म ७ हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछिन् । उमेरले ८४ वर्ष पुगे पनि यो व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएकी छन् । पूर्वदेखि पश्चिम तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उनको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायत गरी करिब ९० थरिका सामान उत्पादन गरिरहेको उनले बताइन् ।

 

सुरुमा परिवारले मात्रै धानेको व्यवसायलाई बढाउँदै जाँदा २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिएकी छन् । हाल उनको कारखानामा २५ महिला कामदार छन् । एक वर्षदेखि अस्तित्वमा आएको संघले हालसम्म पहिलो चरणमा ५०, दोस्रो चरणमा ९८ जनालाई ढाका कपडा बुनाइ तालिम दिइसकेको छ भने तेस्रो चरणअन्र्तगत हाल १९५ लाई तालिम चलाइरहेको छ ।


१० जनालाई ढाका सिलाइ–कटाइ, १५ जनालाई ढाकाको प्राविधिक उत्पादनसम्बन्धी तालिम उपलब्ध गराएको छ । कार्यक्रममा ९८ प्रतिशत महिला आबद्ध छन् । बन्द भएका कार्की ढाका उद्योग र महेश ढाका उद्योगलाई पुनरुत्थान गरिएको छ । पाल्पामा ९ वटा उद्योगबाट परियोजना सञ्चालनमा आएको छ भने त्यसयता ३ वटा नयाँ कारखाना स्थापना भएका छन् ।


बिस्कुनडाँडा ढाका उद्योग, राधिका ढाका उद्योग, भगवती ढाका बुनाइ र एउटा दर्ता प्रक्रियामा छ । पाल्पामा करिब तीन दर्जन हाराहारी ढाका कपडा व्यापारी छन् । दसैंअघि तानसेनको टुँडिखेलमा लुम्बिनी प्रदेश सरकार र परियोजनाको सहयोगमा पाल्पाली कोसेली घर सञ्चालनमा ल्याइएको छ ।