close

पर्यटन र घरेलुका कोरोना प्रभावितलाई १ अर्बको ऋण

पर्यटन र घरेलुका कोरोना प्रभावितलाई १ अर्बको ऋण

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकलाई चालू आर्थिक वर्षको दोस्रो महिनासम्म १ अर्ब रुपैयाँ बराबरको ऋण उपलब्ध गराएको छ । राष्ट्र बैंकका अनुसार व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ अन्तर्गत उक्त कर्जा उपलब्ध गराइएको हो ।


कोरोनाका कारण सबभन्दा बढी प्रभावित भएको पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलाई राहत उपलब्ध गराउने गरी सरकारले विशेष व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ र चालू आवको बजेटमा समेत कोरोना प्रभावित क्षेत्रलाई विशेष राहतको व्यवस्था गरिएको छ । राष्ट्र बैंकले गत आव र चालू आवको मौद्रिक नीतिमा समेत व्यवसाय र उद्यमका पक्षमा विशेष नीतिगत प्रबन्ध गरेको छ ।


राष्ट्र बैंकले सोमबार जारी गरेको चालू आवको दोस्रो महिनाको विवरणअनुसार कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु र्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा १ अर्ब रुपैयाँ स्वीकृत भएको जनाएको छ ।


यस्तै, केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा गत भदौ मसान्तमा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको छ । सोही अवधिसम्म १ लाख २० हजार ७१५ ऋणीले सहुलियतपूर्ण कर्जा प्रवाह लिएका छन् ।


उक्त कर्जामध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ५१ हजार २७२ ऋणी लाभान्वित भएका छन् । ती ऋणीले १ खर्ब २१ अर्ब ६ करोड रुपैयाँ कर्जा लिएका छन् । महिला उद्यमशील कर्जाअन्तर्गत ६६ हजार ६९० महिला उद्यमी लाभान्वित भएका छन् । सोही शीर्षकमा ६२ अर्ब ३७ करोड रुपैयाँ कर्जा उपयोग भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ७ ५३ ऋणी लाभान्वित भएका छन् ।