close

तीन महिनामा ५ खर्ब वैदेशिक व्यापार, व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढ्यो 

तीन महिनामा ५ खर्ब वैदेशिक व्यापार, व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढ्यो 

Trulli
ADVERTISEMENT

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा ३  खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको वैदेशिक व्यापार बढेर  चालू आवको सो अबधिमा  ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ ।


    
भन्सार विभागद्वारा मंगलबार जारी चालू आवको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भइ ४  खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको आयात भएको थियो । तथ्याङ्कानुसार चालू आवको तीन महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८.०३ : ११.९७ छ ।


     
सार्वजनिक विवरणानुसार गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासिकमा  ३१ अर्ब चार करोड ६० लाख ९३ हजारको निर्यात भएकामा चालू आवमा  ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजारको निर्यात भएको छ । 


    
चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर ४  खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा व्यापार घाटा २ खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार थियो ।  चालू आवको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात ७ दशमलव ३६ गुणाले बढी देखिन्छ । 


 
डिजेल धेरै आयात

 

विभागको तथ्याङ्कानुसार तीन महिनामा रु २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार बराबरको डिजेल आयात भएको छ जुन आयातमध्येकै बढी हो । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ । व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनः निर्यात गर्दै आएका छन् । चालू आवको पहिलो तीन महिनामा करिब १३ करोड लिटर भटमासको तेल  २० अर्ब ६० करोड ६० लाख ५१ हजार मूल्य बराबरको निर्यात भएको विभागले जनाएको छ । 


    
त्यस्तै चालू आवको पहिलो तीन महिनामा मोबाइल टेलिफोन  १७ अर्ब १७ करोड ७१ लाख ८० हजार, पाम आयल  १३ अर्ब चार करोड ५३ लाख ८६ हजार र पेट्रोल  १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजारको आयात भएको छ ।  

 

 भटमासको तेल बढी निर्यात

 

नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै  देखिएको छ । विभागकोे तथ्याङ्कानुसार स्वदेबाट  २२ अर्ब दुई करोड ६८ लाख ५२ हजारको भटमासको तेल निर्यात भएको छ । 

 

व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेका छन् । सबैभन्दा बढी निर्यात हुने वस्तुको दोस्रा नम्बरमा कच्चा पाम तेल र तेस्रोमा प्रशोधित पाम तेल छन् । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो तीन महिनामा ८ अर्ब ४५ करोड ९८ लाख ३१ हजारको कच्चा पाम तेल र ५ अर्ब ५ करोड ४८ लाख ९८ हजारको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ ।


    
त्यस्तै चालू आवको गत तीन महिनामा लगभग २ अर्ब २४ करोड ७६ लाख ६६ हजार बराबरको ऊनीको गलैंँचा र झण्डै १ अर्ब ८७ करोड ५५ लाख ६९ हजार बराबरको जुटका बुनिएका कपडा तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।