close

तीन दिनमा सात अर्बले घट्यो निक्षेप

तीन दिनमा सात अर्बले घट्यो निक्षेप

Trulli
ADVERTISEMENT

काठमाडौं– बैंक तथा वित्तीय संस्थामा निक्षेपको मात्रा घट्दै गएको छ । गत कात्तिक मसान्तमा  ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा  ४२ खर्ब २६ अर्बमा झरेको छ ।

 

गत कात्तिक मसान्तसम्म  ४० खर्ब ३४ अर्ब बराबरको ऋण लगानी भएकामा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर  ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ । यस आधारमा तीन दिनमा नै निक्षेप रु सात अर्बले घटेको देखिन्छ भने ७ अर्बले नै कर्जा लगानी भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले लगातार निक्षेप र कर्जाको अवस्थाका बारेमा जानकारी गराउँदै आएको छ ।

 

गत साउन मसान्तमा वाणिज्य बैंकमा  ४१ खर्ब २३ अर्ब निक्षेप थियो । त्यसबेला  ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो । गत भदौ मसान्तसम्म  ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा  ३८ खर्ब ७२ अर्ब बराबरको कर्जा लगानी भएको थियो । असोज मसान्तसम्म  ४२ खर्ब ६९ अर्ब बराबरको निक्षेप पुग्दा कर्जा भने  ३९ खर्ब ९८ अर्ब बराबर भएको थियो । निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ ।   

 

नेपाल बैंकर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप  ४३ अर्बले घटेको छ । सोही अवधिमा कर्जा  ३६ अर्बले बढेको छ । सङ्घका अनुसार पछिल्लो तीन दिनको विवरण हेर्दा निक्षेप रु सात अर्बले घट्दा कर्जा लगानी ७ अर्बले बढेको छ ।

 

पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको, विप्रेषणसमेत तुलनात्मक रुपमा वृद्धि नभएका कारणले गर्दा निक्षेपमा चाप परेको सङ्घले जनाएको छ ।