close

राष्ट्र बैंकबाट मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

राष्ट्र बैंकबाट मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७८\७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको
छ । मौद्रिक नीतिको समीक्षामा केन्द्रीय बैंकले कर्जा निक्षेप अनुपात तथा शेयर धितोसम्बन्धी व्यवस्थालाई निरन्तरता दिएको
छ ।

 

पुँजीबजार सम्बद्ध लगानीकर्ताले परिमार्जन अपेक्षा गरेको नीतिमा भने परिवर्तन भएन । समीक्षामा सेयर धितो कर्जामा लगाइएको ४–१२ को सीमा र सिडी रेसियोसम्बन्धी नीतिमा केही परिमार्जन भएको छैन ।

 

त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले चालू मौद्रिक नीतिमा कायम गरिएको व्यवस्था यथावतै रहेको बताएको छ । बैंकले आर्थिक पुनरुत्थानले गति लिन थालेसँगै कर्जा प्रवाह र आयात उच्च दरले बढेको उल्लेख गरेको छ ।

 

बढ्दो कर्जा मागलाई व्यवस्थित गर्न, साधन परिचालनको दायरा बढाउन र उत्पादनशील क्रियाकलापमा स्रोतको अभाव हुन नदिनेतर्फ सजग रही मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताएको छ ।

 

पछिल्लो समय शोधनान्तर स्थितिमा परेको चाप र मुद्रास्फीतिमा पर्न सक्ने दबाबलाई ध्यानमा राखी मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाइने राष्ट्र बैंकको भनाइ छ ।

 

मौद्रिक नीतिको नयाँ समीक्षामा मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरूप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात ०७९ असार मसान्तसम्म निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई बैंकसमक्ष पेस गरी सोको कार्यान्वयन गर्नुपर्नेछ ।

 

विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ । डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एक्सेप्टेन्सको विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।

 

ड्राफ्ट टिटीको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्न सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ । व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहे वाणिज्य बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

 

विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायत विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ । गैरआवासीय नेपाली तथा गैरआवासीय नेपाली संलग्न विदेशी संस्थाबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ । विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।