close

संकटका बेला नाफामुखी नहुन अर्थमन्त्रीको आग्रह

संकटका बेला नाफामुखी नहुन अर्थमन्त्रीको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


बैंक तथा वित्तीय संस्थाको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकहरूले पनि संकटका बेला बढी नाफामुखी हुन नहुने बताए । ‘संकट परेका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ’, उनले भने, ‘संकटका बेला उद्योगधन्दा र जनता र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुप¥यो । यो भावना देखिएको छैन । संकटका बेला मिलेर एकअर्कालाई बचाउने हो ।’ 


उनले मुलुकको गार्हस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए । ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, उनले भने, ‘यो प्रवृत्तिगत समस्यालाई समाधान गर्न  एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’


मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरूलाई आग्रह गरे । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको बताउँदै उनले ती मुलुकमा शाखा खोल्न आग्रह गरेका हुन् । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उनको विश्वास छ । 


मन्त्री शर्माले व्यवसाय विशिष्टीकृत गर्नुपर्ने आवश्यकता औँल्याए । बैंकिङ तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्दै उनले विशिष्टीकरण गर्नुपर्नेमा जोड दिए ।

 

‘आफूले आफैंलाई ऋण दिने÷लिने देखिएको छ’, उनले भने, ‘यसले गर्दा ब्याजलगायतका तथ्यांक सही रूपमा आएनन् ।’ उनले विद्यमान तरलता अभाव एक महिनाभित्र समाधान हुने दाबी गरे । पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने मन्त्री शर्माको भनाइ छ । ‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो संकट आइसकेको छैन’, उनले भने, ‘सचेत हुने अवस्था छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।’ 

 

कोभिड–१९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनको दाबी छ । बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत उनले आग्रह गरे ।

 

ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको बताउँदै मन्त्री शर्माले त्यसो नगर्न आग्रह गरे । त्यसले व्यवसाय असफल हुने उनको भनाइ छ ।


पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने उनले बताए । लकडाउन गर्दा मुलुकको अर्थतन्त्र संकटग्रस्त हुने हुँदा त्यसो नगरिने उनले प्रस्ट पारे । ‘फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा रहेको छ’, उनले भने, ‘अब हामीले लकडाउनको बाटो अपनाउनुहुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।’