close

६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७८/७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष ०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुन् ।


उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताउँदै जसरी पनि खर्च गर्नैपर्नेमा जोड दिए । ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि मैले रातको १२ बजे पनि तपाईंहरूलाई सहयोग गर्न तयार छु ।’


मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्नुपर्ने बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरे । उनले ठूला योजनामा स्थानीय तह र त्यहाँका नागरिकलाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

 

ठूला योजनामा अपनत्वका लागि नागरिकलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाइ छ । उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने गरेको बताउँदै अर्थमन्त्री शर्माले अब डिजिटल माध्यममा लैजानुपर्ने आवश्यकता औँल्याए ।

 

‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुप¥यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्‍याे । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’


पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । सोमबारसम्मको तथ्यांकअनुसार पुँजीगत खर्च ९.३९, चालू खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ ।