रत्ननगर– पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा महोत्सव समापन गरेका हुन् ।
‘कोरोना महामारीको जोखिमका कारण हामीले चौथो दिनमै चितवन महोत्सव समापन गर्दैछौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘अर्को वर्ष हामी १४औँ संस्करणको चितवन महोत्सव गर्ने छौँ, त्यसको घोषणा आजै गर्छु । चार दिनमै महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मूल आयोजक कमिटीले चितवन महोत्सवमा स्टल राखेका व्यवसायीलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देश गरेसँगै महोत्सव समापन गरिएको बताइएको छ । महोत्सव आगामी माघ ४ गते समापन गर्ने कार्यक्रम थियो ।
चितवनको गौरव र गरिमामय प्रस्तुतिको रूपमा रहेको चितवन महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टाछुट्टै परिसर रहेका थिए । त्यस्तै महोत्सवमा चारवटा विशेष स्टल तथा डोमसहित बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीलगायत ३५० वटा स्टल राखिएका थिए ।