काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा लैजान एसियाली विकास बैंक (एडिबी) सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन् । एडिबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले सो कुरा बताएका हुन् ।
नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले यस क्षेत्रमा एडिबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’, उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार शृंखलामा पुर्याउन पनि एडिबीसँगको हाम्रो सहकार्य आवश्यक छ ।’ उनले अर्थतन्त्रको नकारात्मक पक्षलाई न्यूनीकरण गर्ने कुरामा थप जोड दिन आवश्यक रहेको औँल्याए ।
अर्थतन्त्र तथा व्यापारका सूचकांकलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसका लागि लगानीमैत्री वातावारण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवं उत्साहित बनाउनुपर्ने उनले बताए ।
एडिबीले कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पुर्याएको सहयोगप्रति उनले बैंकलाई धन्यवाद दिए । उनले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्नुपर्ने बाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेकामा जोड दिए ।