close

औद्योगिक क्षेत्रमा पर्न थाल्यो लोडसेडिङको मार

अनियमितता र ट्रिपिङ समस्या समाधान गर्न आग्रह

औद्योगिक क्षेत्रमा पर्न थाल्यो लोडसेडिङको मार

अनियमितता र ट्रिपिङ समस्या समाधान गर्न आग्रह

Trulli
ADVERTISEMENT

नेपाल विद्युत् प्राधिकरणले अघोषित रूपमा औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गरेको छ । 

 

त्यसको मारमा परेको रुपन्देही उद्योग सङ्घले केही दिनदेखि औद्योगिक क्षेत्रको विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न आग्रह गर्दै नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लुम्बिनी प्रदेश कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ । 

 

सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलको नेतृत्वमा गएको सङ्घका पदाधिकारी तथा लुम्बिनी कोरिडोर क्षेत्रका उद्योगीहरू सहितको प्रतिनिधि मण्डलले प्राधिकरणका प्रदेश प्रमुख निर्देशक नवराज ओझालाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा विशेष गरी लुम्बिनी कोरिडोर क्षेत्रसँगै जिल्लाभरिका उद्योगहरूमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न अनुरोध गरिएको छ । 

 

ज्ञापन पत्र बुझाउँदै अध्यक्ष पौडेलले प्राधिकरणले विना सूचना विद्युत् आपूर्ति बन्द गर्ने र नियमित विद्युत् नदिएका कारण उद्योगहरूले ठुलो क्षति व्यहोर्नु परिरहेको जनाउँदै विद्युत् वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् । साथै यो समस्या लामो समयसम्म कायम रहे उद्योगधन्दा नै धराशायी हुने चेतावनी समेत दिएका छन् ।

 

सङ्घले विद्युत् प्राधिकरणले समय तालिका बनाएर उद्योग क्षेत्रको विद्युत् आपूर्ति नियमित नगरे चरणबद्ध आन्दोलनमा होमिन बाध्य हुने चेतावनी पनि दिएको छ । सो अवसरमा सङ्घका निवर्तमान अध्यक्ष बाबुराम बोहराले प्राधिकरणको नेतृत्वको असक्षमताका कारण पटक पटक उद्योगीले पीडा भोग्नु परेको बताउँदै हाल विद्युत् आपूर्तिमा देखिएको समस्या नियोजित भएको दाबी गरे । 

 

लुम्बिनी कोरिडोर स्थित जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गानाले नेपाल विद्युत प्राधिकरण सधैँ उद्योगलाई सताउने र धराशायी बनाउन लागिपरेको आरोप लगाएका छन् । उनले विद्युत् आपूर्तिको समस्या समाधान नभए आफूहरू उद्योगमा ताला लगाएर सडकमा आउने चेतावनी दिए । 

 

ज्ञापन पत्र बुझ्दै प्राधिकरणका प्रदेश प्रमुख निर्देशक ओझाले विद्युतको उत्पादन र आयातमा आएको समस्याका कारण वितरणमा समस्या देखिएको बताउँदै समस्या समाधान गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले समय तालिका बनाएर विद्युत् वितरण गर्ने तथा प्राविधिक टोलीसँग परामर्श गरी तत्काल अन्य उपाय खोज्ने आश्वासन समेत दिएका छन् ।

 

प्रतिनिधि मण्डलमा सङ्घका वरिष्ठ उपाध्यक्ष दिलीप सापकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव हरि बहादुर खत्री, कोषाध्यक्ष हीरामणि भट्टराई, महिला सचिव मञ्जु भुसाल, सह कोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, काससलाल प्रसाद बस्याल, अशोक कुँवर, सङ्घका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी, उद्योगीहरू जगदम्बा स्पेनिङ्गका चिरञ्जीवी रायमाझी, वृज सिमेन्टका रवि रञ्जित गुप्ता, अम्बुजा सिमेन्टका राजकुमार गुप्ता, गोयन्का स्टिलका अमित गोयन्का लगायतको सहभागिता रहेको थियो ।