close

मधेश प्रदेशको प्राथमिकता : जीवन निर्वाह र क्षेत्र

मधेश प्रदेशको प्राथमिकता : जीवन निर्वाह र क्षेत्र

Trulli
ADVERTISEMENT

मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८०का लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ। 

शिक्षामा निकै पछाडी रहेको मधेश सरकारले अघिल्लो कार्यकालमा जस्तै यसपटक पनि शिक्षालाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसका लागि विद्यालयमा कानुनी र संस्थागत सुधारका साथै पूर्वाधार निर्माणमा पनि जोड दिइने नीति लिएको छ।

मधेश सरकारले ल्याएको बजेटमा सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत्त छात्राहरूलाई ल्यापटप वितरण गर्नका लागिसमेत बजेट विनियोजन गरेको छ। कक्षा १२ मा अध्ययनरत छात्रालाई प्रविधिमा पहुँच पुर्‍याउनका लागि एक/एक थान ल्यापटप वितरण गर्ने अर्थमन्त्री शैलेन्द्र साहले बजेट भाषणको क्रममा घोषणा गरेका छन्।

ल्यापटप वितरण गर्नका लागि आगामी आर्थिक वर्ष ०७९/८० मा ७७ करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए। यस्तै आर्थिक अवस्था निकै कमजोर रहेका व्यक्तिहरूका लागि जीवन निर्वाहभत्ता उपलब्ध गराउनसमेत प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। मधेश सरकारले यसका लागि १ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको हो।  

मधेश प्रदेशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि क्षेत्रको समष्टिगत विकासको सम्भावना, विकास तथा प्रवर्द्धन, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी कृषिमा आत्मनिर्भर हुनुका साथै निर्यात प्रवर्द्धनसमेतका लागि प्रादेशिक कृषि गुरुयोजना तयार गर्न ५० लाख रूपैयाँ विनियोजन गरिएको छ।

यस्तै, कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रिकीकरण, आधुनिकीकरण गर्न १७ करोड ८४ लाख, किसानलाई सरल र सहज रूपमा उन्नत जातको बिऊ विजन, मल र सहुलियत कर्जा प्रदान, कृषि तथा पशु विमाको विस्तार तथा प्रभावकारी कार्यान्वयन, कृषि सडक निर्माण, कृषि उत्पादन संकलन केन्द्र निर्माण, कृषि उपजको प्रशोधन र भण्डारण एवम् बिक्री-वितरणका लागि आवश्यक बजारसमेतको व्यवस्थापन गर्न २८ करोड २० लाख रूपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै यस्तै पर्यटनलाई पनि मधेश सरकारले उच्च प्राथमिकतामा राखेको छ। ‘प्रादेशिक पर्यटन पूर्वाधार, आन्तरिक पर्यटनको आधार’ भन्ने नारालाई आधार मान्दै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने नीति लिइएको छ। 

दूधमती–महेन्द्रनगर करिडोरलाई धार्मिक पर्यटकिय मार्गका रुपमा विकास गर्ने, पर्सा जिल्लाको प्रशिद्ध धार्मिक स्थल भिष्वा मठलाई वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा धामिर्क पर्यटकिय गन्तव्यस्थलको रुपमा विकास गर्ने कार्यक्रम राखेको छ ।