close

एक वर्षमा हवाई इन्धन १०३ र पेट्रोल ७४ रुपैयाँ वृद्धि

एक वर्षमा हवाई इन्धन १०३ र पेट्रोल ७४ रुपैयाँ वृद्धि

Trulli
पेट्रोल पम्प
ADVERTISEMENT

काठमाडौं । गत वर्ष आजकै दिन पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ थियो । डिजेल ११० रुपैयाँमा खरिदबिक्री हुँदै आएको थियो । हवाई इन्धनको मूल्य ८२ रुपैयाँ थियो । उक्त मूल्य २०७८ जेठ २२ देखि असार ९ गतेसम्म कायम रह्यो । 

गत वर्षको असार ९ गते प्रतिलिटर २ रुपैयाँबाट वृद्धि हुन थालेको पेट्रोलियम पदार्थको मूल्य एक वर्षको अवधिमा झण्डै दोब्बरले वृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेशनले मूल्य वृद्धि गरेको र आयल निगमको घाटा पूर्ति भन्दै हिजो प्रतिलिटर २ रुपैयाँले बढ्न थालेको पेट्रोलियम पदार्थको मूल्य एकैचोटि आइतबार प्रतिलिटर २७ रुपैयाँ बढाएको छ । 

रुस र युक्रेन युद्धका कारण उर्जा संकटले विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै निगमले मूल्य बढाएको सूचनामार्फत् जानकारी दिएको छ । साथै आयल निगमले हरेक सूचनामा इन्डियन आयल कर्पोरेशनलाई समयमा बक्यौता रकम तिर्न नसकेको जनाउँदै आएको छ ।

आइतबारको सूचना अनुसार अहिले पनि २२ अर्ब तिर्नुपर्ने सूचनामा उल्लेख छ ।  निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको सूचनामा उल्लेख छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा मूल्य नघटाउने निगमले बढ्दा  घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ । साथै डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण पनि महँगो भएको जनाएको छ । 

अझ २०७७ फागुन ५ गतेको मूल्यसूची तथ्यांक हेर्दा पेट्रोलको मूल्य प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ थियो । बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर तथा एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर एक हजार ४०० रुपैयाँ थियो । 

तर, नेपाल आयल निगमको आजको मूल्यसूचीअनुसार अब पेट्रोल लिटरको १९९ रुपैयाँ कायम भएको छ । पेट्रोलसँगै डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ। 

निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ १९ रुपैयाँ लिटरमा बढ्दा १८५ रुपैयाँ, हवाइ इन्धन (बाह्य) तर्फ अमेरिकी डलर सयले वृद्धि हुँदा प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार ६४५ कायम भएको छ। 

एलपी ग्यासको मूल्य भने हाललाई पूर्ववत् कायम राखिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल लिटरमा १३.५८ पैसा, डिजेल १३.९५ पैसा, मट्टितेल ४३.०६ रुपैयाँ नाफा, हवाई इन्धन आन्तरिकमा १३.६१ रुपैयाँ नाफा, बाह्यमा ५६.६७ पैसा नाफा र एलपी ग्यास प्रतिसिलिन्डर ७५१.१४ रुपैयाँ घाटा छ ।

पछिल्लो तथ्यांक अनुसार पेट्रोलको मूल्य अत्यधिक बढ्न थालेको गत फागुन ८ गतेदेखि हो । गत फागुन ८ गते यता मात्र पेट्रोलियम पदार्थको मूल्य १० पटक वृद्धि भइसकेको छ । 

गत फागुन ८ गते पेट्रोलको मूल्य १४३.५ रुपैयाँ, डिजेलको मूल्य १२६.५ रुपैयाँ र एलपी ग्याँसको मूल्य १५ सय ५५ रुपैयाँ थियो । 

पछिल्लो ४ महिनामा मात्र एलपी ग्याँस प्रति सिलिन्डर २४५ रुपैयाँ, पेट्रोल ५५.५ रुपैयाँ र डिजेल ६५.५ रुपैयाँले वृद्धि भइसकेको छ ।