close

बाह्य मदिरा आयातमा प्रतिबन्ध, स्थानीय उत्पादनलाई अनुदान

बाह्य मदिरा आयातमा प्रतिबन्ध, स्थानीय उत्पादनलाई अनुदान

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । यही साउन १ गतेदेखि मदिराजन्य बस्तुको आयातमा प्रतिबन्ध लगाइएको भन्दै सोताङको हरेक टोल-टोलमा माइकिङ जारी छ । कोही गाउँपालिकाको सीमा नाका र बजार क्षेत्रमा होर्डिङ बोर्ड टाँग्न व्यस्त छन् । सोमबार पनि विभिन्न स्थानमा जनप्रतिनिधि र स्वयम‍्सेवकहरू माइकिङमा लागे । त्यस्तै स्थानीय रेडियोमा यसबारे सूचना बजिरहेको छ । 

यो सोलुखुम्बुको सोताङ गाउँपालिकाले बाह्य मदिरा आयातमा गरेको प्रतिबन्धबारे स्थानीय सरकारले गरेको प्रचार हो । गाउँपालिकाले आगामी आर्थिक वर्षको पहिलो दिनदेखि मदिराजन्य पेय पदार्थ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हुँदा त्यही अनुसार स्थानीय सरकारले प्रचार तीव्र बनाएको छ ।

गत जेठ २० गतेको कार्यपालिकाको निर्णयअनुसार बाह्य मदिराजन्य पेय पदार्थ आयात र खरिद बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइने गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले जानकारी दिए ।

सामाजिक द्वन्द्व, पारिवारिक विकृति र स्थानीय मदिराको बजारका लागि यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । निर्णय कार्यान्वयन भएपछि स्थानीयलाई फाइदा पुग्ने अध्यक्ष बस्नेतको दाबी छ ।

अध्यक्ष बस्नेतले भने, ‘स्थानीय रुपमा कोदो, गहुँ, मकै, किबी, सुन्तला, आल्चालगायत खाद्य तथा फलफूलबाट पनि मदिरा उत्पादन गरेर स्थानीय स्तरमा उत्पादन तथा व्यापार गर्न सकिन्छ, यसले पैसा बाहिर जाँदैन भने स्थानीयको आयस्रोतको आधार पनि हुने भयो ।'

साथै घरेलु मदिरालाई ब्राण्डको रुपमा विकास गर्न चाहनेलाई गाउँपालिकाले अनुदान पनि दिने जनाएको छ । मदिराको नाममा ठूलो रकम बाहिरिन नदिनको लागि यो अभियान सुरुवात गरिएको अध्यक्ष बस्नेतको भनाइ छ  ।  उनका अनुसार कसैले उद्योग खोलेर स्थानीय फलफूल वा अन्नको मदिरा ब्राण्ड गरेमा अनुदान दिने गाउँपालिकाको योजना छ । 

सोताङमा पहिला नै आयात भइसकेको पेय पदार्थ बिक्रीका लागि गाउँपालिकाले एक महिनाभन्दा बढी समय दिइसकेको बताउँदै साउन १ गतेदेखि कसैले आयात गरेको पाइएमा अनुगमन गरेर नियन्त्रण गरेर नष्ट गरिने गाउँपालिकाले जनाएको छ । 

साथै सोताङमा उत्पादित फलफूल र तरकारीले बजार नपाउने तर आयातितले बजार कभर गर्ने भएकाले तरकारी र फलफूल पनि प्रतिबन्ध लगाइएको उनको भनाइ छ ।