close

काभ्रेको बेरुजुः सबैभन्दा बढी महाभारतमा, कम पनौतीमा

काभ्रेको बेरुजुः सबैभन्दा बढी महाभारतमा, कम पनौतीमा

Trulli
ADVERTISEMENT

काठमाडौं । पनौती नगरपालिकामा कृषकले ७८ लाख ९९ हजार रुपैयाँ व्यहोर्ने गरी तीन बजेट उपशीर्षकबाट पशु खरिद गरियो । 

त्यसमध्ये ६० लाख २६ हजार रुपैयाँ मात्रै दाखिला भयो । बाँकी १८ लाख ७२ हजार सम्बन्धित कृषकसँग असुल गर्नुपर्नेछ । अन्ततः उक्त रकम बेरुजु रकममा समावेश भयो । 

महालेखा परिक्षकको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार पनौती नगरपालिकामा शून्य दशमलव ६८ प्रतिशत बेरुजु छ । यो जिल्लाको सबैभन्दा कम बेरुजु हो । 

काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । 

प्रतिवेदनअनुसार तीमध्ये सबैभन्दा बढी बेरुजु महाभारत गाउँपालिकामा छ । गाउँपाालिकाको ८५ करोड  २७ लाख ११ हजार लेखापरीक्षणमध्ये तीन करोड  ९२ लाख रुपैयाँ अर्थात् ४ दशमलव ६० प्रतिशत बेरुजु छ । 

उक्त तथ्यांकलाई गाउँपालिका अध्यक्ष कान्छा लालजिम्बाले पनि स्वीकार गरेका छन् । उनले गत आर्थिक वर्षमा विभिन्न कारणले बेरुजु रकम बढी भए पनि यस वर्ष कम गर्ने योजनामा रहेको बताए । 

अध्यक्ष जिम्बाले बेरुजु रकम कम गर्नका लाागि सरकारले दिएको अनुदान रकम आवश्यक क्षेत्रमा खर्च गर्ने, तर खर्च नभएको अवस्थामा सरकारलाई उक्त रकम फिर्ता गर्न सकिने बताए । आफू अर्बको वर्ष सोहीअनुसार अघि बढ्ने र बेरुजु रकम कम गर्ने योजना रहेको जिम्बाले पालिकाखबरलाई बताए । 

रोशीगाउँपालिकामा १ दशमलव २ प्रतिशत,  भुल्मुमा १ करोड ७१ लाख १५ हजार अर्थात् १ दशमलव ४६ प्रतिशत, बेथानचोक गाउँपालिकामा १ दशमलव ४६ प्रतिशत, खानीखोला गाउँपालिकामा १ दशमलव  ९३ प्रतिशत, चौरीदेउराली गाउँँपालिकामा १ दशमलव ४ प्रतिशत, र तेमाल गाउँपालिकामा २ दशमलव  ३९ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले जनाएको छ । 

६ वटा नगरपालिकामध्ये मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा बढी बेरुजु छ । सो पालिकामा २ दशमलव ३९ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले जनाएको छ । यसैगरी बनेपा नगरपालिकामा १ दशमलव ९३ प्रतिशत, नमोबुद्ध नगरपालिकामा २ दशमलव ३१ प्रतिशत, पाँचखाल नगरपालिकामा शून्य दशमलव ९६ प्रतिशत  र बनेपा नगरपालिकामा १ दशमलव ५३ प्रतिशत बेरुजु छ । 

प्रतिवेदनअनुसार गत आव २०७७÷०७८ मा काभ्रेका स्थानीय तहमा ३१ करोड ४० लाख७८ हजार बेरुजु छ ।