close

अनुदानका लागि सुरु गरिएका फार्म अलपत्र

अनुदानका लागि सुरु गरिएका फार्म अलपत्र

Trulli
ADVERTISEMENT

काठमाडौं । पर्वतमा सरकारी अनुदान लिनका लागि खोलिएका कृषि तथा पशु फार्म धमाधन बन्द हुन थालेका छन् ।

केही वर्ष अघि व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट रु एक करोड पचास लाख अनुदान पाएको महाशिला गाउँपालिकाको नमूना बाख्रा फार्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो ।     

महाशिला–१ होस्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको उक्त फार्म एक वर्षपछि अलपत्र परेको हो ।

विसं २०७४ मा आयोजनाबाट अनुदान उपलब्ध गराइएको फार्ममा अहिले झार र सिस्नोले भरिएको  र भवन पनि खण्डहर बनेको छ । स्थानीयवासीका अनुसार फार्मका भवन बाहेक केही छैन । 

दुई सय रोपनी क्षेत्रफलमा बाख्रापालनका लागि बनेका छवटा खोरमा अहिले बाख्रा छैनन् । पहुँचको भरमा ल्याइएको अनुदान दुरुपयोग भएको स्थानीयवासी भीमप्रसाद काफ्लेले बताउनुभयो ।

दुई छाक खानका लागि जोहो गर्न खाडी जानुपर्ने बाध्यता रहेको गाउँपालिमा करोडौँ रुपियाँका फार्म अलपत्र पारिएको उहाँको गुनासो थियो ।    

स्थानीयवासी काफ्लेका अनुसार बाख्रापालनका लागि भनेर संरचना बनाइए पनि बाख्रा देख्न पाइएन । अनुदान ल्याउन मात्रै बाख्रा देखाइएको तर हाल बाख्रा नै नरहेको स्थानीयवासी बताउँछन् ।

केही समय करिब ५० वटा बाख्रा राखिएको भए पनि अहिले ती बाख्रा बेचेर भवन मात्रै रहेको अर्का स्थानीयवासी कला भट्टराईले बताए ।

स्थानीय २९ जनाको शेयर र प्याक्टको अनुदामा सुरु गरिएको सो परियोजना अलपत्र परेपनि कुनै निकायले अनुगमन नगरेको स्थानीयवासीको भनाइ थियो ।

होस्राङ्दी, उराम, भोक्सिङका किसानले साझेदारीमा सञ्चालन गरेको उक्त फार्म आर्थिक सङ्कटका कारण बन्द भएको महाशीला गाउँपालिकाका अध्यक्ष तथा फार्मका मुख्य सञ्चालक ईश्वरीप्रसाद भुसालले जानकारी दिए । 

अनुदानसहित तीन करोडको लागत अनुमान गरिएकामा परियोजनाबाट प्राप्त अनुदानबाहेक सम्बद्ध व्यक्तिले लगानी नगरेपछि सरकारी अनुदान सदुपयोग नभएको उनले बताए । 

अध्यक्ष भुसालले भने, ‘एक करोड रुपियाँ पाउनुपर्नेमा रु ७० लाखले मात्रै काम गरियो, त्यसैले समस्या भयो ।’

फर्ममा ५०० माउ बाख्रा पाल्नेगरी बनाइएको र घाँस सङ्कलन गर्नेदेखि पानी खुवाउनेसम्मका संरचना बनिसकेका थिए । अनुदान उपलब्ध गराउने समयमा भने फार्ममा बाख्रा रहेको भेटनरी अस्पताल एवं पशु विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख रामजी पौडेलले अनुदान उपलब्ध गराउँदा फर्ममा बाख्रा रहेको तर अहिले भने अनुगमन नभएको स्वीकारे ।